लोकमानले सीमा नाघेः युवा संघ


१३ असार । युवा संघ नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जथाभावी अभिव्यक्ति नदिन सचेत गराएको छ । साथै, संघले त्यसमा लगाम लगाउन सरकार र संस्दको ध्यानाकर्षण गराएको छ ।

सोमबार संघका अध्यक्ष राजीव पहारीले विज्ञप्ति निकालेर अख्तियारले प्रवक्ताको नामबाट विज्ञप्ति निकालेर डा.गोविन्द केसीलाई लगाएको आरोप निन्दनीय भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘हामी राज्यका सबै निकाय र अंगहरु संवैधानिक मर्यादामा रहून् भन्ने चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘तर महत्वपूर्ण निकाय र त्यसको नेतृत्व गर्ने व्यक्तिहरुबाट त्यसो नभएको देख्दा हामीलाई अचम्म लागेको छ ।’

‘स्वास्थ्य क्षेत्रलाई नै बन्दक बनाउन खोज्ने डा.केसीको तरिकाप्रति हाम्रो सहमति–समर्थन होइन, कोही भ्रष्टचारी भए कानुन अनुसार कारबाही गराउने उहाँलाई पूरै बाटो खुला छ । त्यस अभियानमा आमजनताको साथ पनि रहनेछ,’ आइतबार चिकित्सक डा. केसीमाथि गम्भीर आरोप लगाउँदै अख्तियारले निकालेको विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै युवा संघले भनेको छ, ‘डा.केसी जस्तो सामाजिक रुपमा मर्यादित ब्यक्तिले जताभाबी बोल्ने र आरोप लगाउने कुरा गलत छ । तर, अख्तियारले उहाँमाथि लगाएको आरोप झन् निन्दनीय छ ।’

युवा संघले सरकार तथा सरोकारवाला निकायलाई पारदर्शी र जनपक्षीय बनाउने अधिकार पाएको निकाय र त्यसका प्रमुखबाट संविधान र कानुनले दिँदँ नदिएको अधिकारको प्रयोग गर्ने, थोरै आलोचना गर्ने वित्तिकै विज्ञप्ति नै जारी गरेर एउटा निश्चित सीमा र मर्यादाको पर्वाह नगरी व्यक्तिगत लाञ्छना लगाउने संस्कृति असल नभएको आरोप लगाएको छ ।

‘अख्तियार र त्यहाँका अमूक मानिसले ब्यक्तिलाई मानसिक स्वास्थ्य ठीक नभएको भन्दै आरोप लगाउने कुरा उचित होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘अख्तियारका नाममा आएको विज्ञप्ति गलत छ । त्यसैले यो कुरा सच्याउन र संवैधानिक सीमाभित्र रही संविधान र कानुनको सम्मान गर्न अख्तियारलगायत सम्पूर्ण संवैधानिक निकायलाई युवा संघ नेपाल सचेत गराउँछ ।’

साथै युवा संघले सरकार र व्यवस्थापिका–संसद्लाई समेत ती निकायलाई आवश्यक लगाम लगाउन माग गरेको छ ।
यस्तो थियो अख्तियारको विज्ञप्ति1 3

2

प्रतिक्रिया दिनुहोस्