लोकमानलाई बचाउनेहरु आफै पाखा लाग्छन्ः सीपी मैनाली


७ कार्तिक । नेकपा (माले) का महासचिव सीपी मैनालीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्ताव जसरी पनि पारित हुने दाबी गरेका छन् । पहिलो न्युज डटकमसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

सरकारको नेतृत्वको गरेका दल नेकपा माओवादी–केन्द्र र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले कार्कीविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावबारे कांग्रेस अहिलेसम्म पनि खुल्न नसक्नुलाई मैनालीले दुर्भाग्यपूर्ण भएको बताए । ‘नेपाली कांग्रेसले सानातिना बहानाबाजी गरेर लोकमानविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे प्रष्ट अडान बाहिर ल्याउन सकेको छैन,’ मैनालीले भने, ‘कांग्रेसले कम्युनिष्ट भन्नेहरु दलले महाभियोगमा पहल गरेकाले हाम्रो त्यसमा समर्थन छैन भन्ने हल्ला र टिप्पणी गरेको छ, यो कांग्रेसको कुतर्क मात्रै हो ।’

मैनालीले लोकमानलाई कसैगरी पनि बचाउन नसकिने भन्दै कांग्रेसलाई प्रष्ट अडान लिएर आउन पनि आग्रह गरे । ‘कुतर्कको आड लिएर लोकमान बचाउने अभियानमा कांग्रेस लाग्न मिल्दैन,’ उनले भने ‘कांग्रेसले सत्ता गठबन्धनमा हामीसँग पर्याप्त छलफल भएन भनेर अर्को निराधार कुतर्क अघि सारेको छ । त्यसमा पनि कुनै तुक छैन ।’ कांग्रेस अहिले किन हतार गर्ने भन्ने कुर्तक अघि सारेर पनि लोकमान जोगाउन लागेको भन्दै त्यो उचित नभएको उनको ठहर छ ।
उनले महाअभियोग प्रस्तावबारे सत्ताको नेतृत्व गरेको माओवादी र प्रमुख प्रतिपक्षी दल एमालेले पनि कांग्रेससँग पर्याप्त छलफल गरेको जिकिर गरे । ‘त्यसैले विभिन्न बहाना बनाएर लोकमान बचाउनेतिर लाग्नु कांग्रेसका लागि घातक हुन्छ,’ उनले भने ।

अहिले केही मधेसवादी दल संर्किण माग अघि सारेर भारतको रणनीति सफल बनाउन लागिपरेको भन्दै उनले कांग्रेसलाई त्यो जालोमा नफस्न पनि आग्रह गरे । ‘अहिले भारतको रणनीति सफल बनाउन लागिपरेका केही मधेसवादी दल संविधान संशोधन प्रक्रियालाई अवरोध गर्न लोकमान प्रकरण ल्याएको हो भन्ने लोकमान जोगाउने अभियानमा लागेको छ,’ मैनालीले भने ‘उनीहरुको त्यो खेलोमेलोमा कांग्रेस नफसोस् ।’

लोकमान बचाउ अभियानमा नेपाली कांग्रेस लागे कांग्रेसमा विभाजन आउनेसमेत उनले ठोकुवा गरे । ‘नेपाली कांग्रेस त्यस्ता खाले कुतर्कको पछि लागेर लोकमान बचाउन थाले उसको विसर्जन सुरु भयो भन्ने बुझे हुन्छ,’ उनले भने ‘कांग्रेसले राष्ट्रवादी सरकारको गठबन्धन तोड्यो, त्यो भन्दा अघि १६ बुँदे तोड्यो । अहिले फेरि अवैधानिक क्रियाकलाप गर्दै हिँड्ने अक्षम व्यक्तिको प्रतिरक्षामा उभियो भने उसको पतनको गति सुरु हुन्छ । अझ भन्ने हो भने कांग्रेसको मृत्युको घण्टी बज्न सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्