लोकमानविरुद्धको महाअभियोग दर्ताप्रति राप्रपा नेपालको असन्तुष्टि


४ कर्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएको विषयप्रति व्यवस्थापिका संसदको चौथो ठूलो दल राप्रपा नेपालले असन्तुष्टि व्यक्त गरेको छ । राप्रपा नेपालले विज्ञप्ति निकालेर नै असन्तुष्टि व्यक्त गरेको हो ।

नेपालको संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको, नेपालको संविधान विपरीत केही चिकित्सकहरुलाई कारवाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनाधिकृत निर्देशन दिएको, आफ्ना नातेदारको लगानी रहेको किस्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीका लागि सिट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनाधिकृत रुपमा निर्देशन दिएको, काठमाडौँ विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनाधिकृत रुपमा हस्तक्षेप गरेको, अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनप्रतिकुल कामकारवाही गरेको,  आफूसँग असहमत व्यक्तिहरुमाथि प्रतिशोधपूर्ण रुपमा बिनाकारण कारवाही चलाएको,  सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएको जस्ता आरोप लगाउँदै कार्कीमाथि बुधबार महाअभियोग दर्ता भएको थियो । १ सय ५७ जना सांसद्ले बुधबार महाभियोग गर्दा गरेपछि राप्रपा नेपालले त्यसको विरोध गरेको हो ।

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि महाअभियोग लगाउने जस्तो अत्यन्त गम्भीर र संवेदनशील बिषयको प्रस्ताव राजनीतिक दलहरुका बीचमा पर्याप्त छलफल गरेर मात्र पेश हुनु पर्ने थियो,’ प्रवक्ता राजाराम श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रस्ताव पेश हुनु पुर्व राप्रपा नेपालसंग कुनै परामर्श भएको छैन । त्यसर्थ प्रस्तावको बिस्तृत अध्ययन गरेर मात्र राप्रपा नेपालले आफ्नो आधिकारिक धारणा तय गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्