लोकमानसिंहको सम्पत्ति राष्ट्रियकरण गर्न युवा संघको माग


४ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको देश–विदेशमा रहेका सबै सम्पत्ति रोक्का गर्न युवा संघ नेपालले माग गरेको छ । बुधवार एक विज्ञप्ति जारी गर्दै युवा संघले यस्तो माग गरेको हो ।

बुधबार कार्कीका विरुद्धमा नेकपा (एमाले) र नेकपा माओवादी–केन्द्रका १ सय ५७ सांसदहरुले संसदमा दर्ता गराएको महाअभियोग प्रस्तावको समेत युवा संघ नेपालले स्वागत गरेको छ ।

‘दोस्रो जनआन्दोलनमा लोकतान्त्रिक गणतन्त्र पक्षधर आन्दोलनकारीहरुमाथि दमनको अगुवाइ गर्ने कार्कीजस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउनुको सट्टा अख्तियार दुरुपयोग अनुसन्धानजस्तो संवैधानिक निकायको प्रमुख बनाइएकोमा युवा संघ नेपालले त्यति बेलै विरोध गर्दै सडकमा प्रदर्शनसमेत गरेको सबैलाई जानकारी छ,’ युवा संघका कार्यवाहक अध्यक्ष दिलु पन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आयोगको प्रमुख रहँदा संविधान र कानुनले निर्दिष्ट गरेको भूमिका बमोजिम भ्रष्टाचार निवारण गरी मुलुकमा सुशासन स्थापना गर्नेतिर लाग्नेभन्दा पदीय दुरुपयोग गरी लोकतान्त्रिक विधि, मूल्य–मान्यतामाथि कार्कीले ठाडो चुनौती दिँदै आएका थिए ।’

त्यसैगरी विज्ञप्तिमा पछिल्लो पटक सम्मानित सर्वोच्च अदालतमा उनको नियुक्तिमाथि परेको रिट सुनुवाइअघि बढ्न नदिनका लागि म्याद तामेलीसमेत हुन नदिनका लागि गरेको गुण्डागर्दी शैलीको पनि आलोचना गरिएको छ । ‘कार्कीले कानुनी राज्यलाई चुनौती दिएर समानान्तर सत्ताको अभ्यास गर्न खोजे ।

त्यसले मुलुकको लोकतन्त्र र विधिको शासनलाई नै ठाडो चुनौती दिएको थियो । यस पृष्ठभूमिमा उनीविरुद्ध सार्वभौम निकाय संसदमा महाअभियोग प्रस्तावमार्फत् उनलाई बर्खास्तीका लागि माननीय सांसदज्यूहरुले चाल्नुभएको कदमप्रति युवा संघ नेपाल ऐक्यबद्धता प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
भ्रष्टाचार छानविनको विषयलाई बार्गेनिङ र सौदाबाजीको विषय बनाएर पदीय दुरुपयोग गरी लोकतन्त्र र कानुनी राज्यको सिद्धान्तलाई नै ठाडो चुनौती दिँदै आएका कार्कीमाथि लगाइएको महाअभियोग छिटो किनारा लगाई बर्खास्ती गर्न पनि संघले माग गरेको छ ।
‘पञ्चायतकालमा हुकुमप्रमाङ्गीबाट नियुक्त भई पदीय दुरुपयोग गर्दै अकुत सम्पत्ति कमाएका कार्कीको स्वदेश तथा विदेशमा रहेका सम्पत्ति तत्काल रोक्का गरी छानबिन प्रक्रिया अघि बढाउन तथा उनको सम्पत्ति राष्ट्रियकरण गर्न समेत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्