वरिष्ठ नेता नेपालको प्रश्नः ‘एमालेलाई मधेस विरोधी भन्नेहरुले चुनाव गरेर देखाउन सक्छन् ?’


१७ पुस । नेकपा(एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले अवरुद्ध संसद् खोल्न पहल नगरेको बताएका छन् । आइतबार महोत्तरीको बर्दिवासमा जिल्लास्तरीय अगुवा कार्यकर्ताहरु सम्बोधन गर्ने क्रममा नेता नेपालले उक्त कुरा बताएका हुन् । अहिलेको राजनीतिक अवस्थाबारे अवगत गराउँदै नेता नेपालले सरकारले प्रमुख विपक्षीलाई बेवास्ता गरी प्रस्ताव पेस गर्न खोजे समस्या झन् बल्झने बताए ।

एमाले जहिल्यै पनि सहमति र आपसी सहकार्यको राजनीतिबाट अघि बढ्न तत्पर रहेको बताउँदै नेता नेपालले संशोधन प्रस्ताव फिर्ता लिनासाथ अरु प्रक्रिया अघि बढ्ने विचार व्यक्त गरे । ‘एमालेलाई मधेस विरोधी भनेर हल्ला पिट्नेलाई म चुनावको घोषणा गरेर जनतामा पुग्न चुनौती दिन्छु । मधेसी जनता समुचित निर्णय दिन सक्षम छन्’ नेता नेपालले भने ।

यसैबीच, वरिष्ठ नेता नेपालले शनिबार सप्तरीको कचनदाहमा जिल्लास्तरीय कार्यकर्ताहरुलाई सम्बोधन गर्दै एमालेको आधारभूमि मधेस रहेको बताएका थिए । सो कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘पञ्चायतकालमा किसान सम्मेलनदेखि ठूलाठूला आन्दोलनहरु मधेसमा नै भएका थिए । ती आन्दोलनहरुका एमालेले नै अगुवाइ गरेका थिए । एमालेले नै मधेसमा जनचेतना जगाउने काम गरेका थिए । कसरी एमाले मधेस विरोधी हुनसक्छ ?’

नेता नेपालले मधेसी दलहरुले हल्ला गरेअनुरुप पछाडि नलाग्न पनि कार्यकर्ताहरुलाई बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्