सरकार ढाल्ने सबै षड्यन्त्र असफल हुन्छन्ः गुरुङ


२५ असार। नेकपा (एमाले)का स्थायी समिति सदस्य एवं स्थानीय निकाय विभाग प्रमुख किरण गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने सबै प्रकारका षड्यन्त्रहरु असफल हुने दाबी गरेका छन् ।

तनहुको दमौलीमा नेकपा एमाल जिल्ला कमिटिले आयोजना गरेको ‘स्थानीय निकाय पुनःसंरचन सम्बन्धी परामर्श बैठकलाई सम्बोधन गर्दै गुरुङले नेकपा एमाले नेतृत्वको सरकार तत्काल सरकार परिवर्तन नहुने दाबी गरेका हुन् ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार अगामी २०७४ सालको मंसिरसम्ममा स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन गर्ने लक्ष्य अनुरुप सरकार अगाडि बढेको पनि उनले दाबी गरे । ‘यहि सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्छ,’ उनले भने । गुरुङले स्थानीय स्तरको चुनावका लागि एमालेका नेता तथा कार्यकर्तालाई तयार रहन पनि आग्रह गरे ।

परामर्श बैठकमा कार्यपत्र प्रस्तुत गर्दै गुरुङले पुनःसंरचना आयोगलाई पूर्णरुपमा सहयोग गर्न एमालेका नेता तथा कार्यकर्तालाई आग्रह समेत गरे । गाउँ पालिका र नगरपालिकाको सीमाङ्कन र केन्द्र निर्धारणको समयमा समस्या उत्पन्न हुने हुँदा चनाखो हुन पनि आग्रह गरे ।

परामर्श बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा गण्डकी अञ्चल इन्चार्ज जगत विक तथा केन्द्रीय सदस्य एवम् तनहुका इन्चार्ज प्रतापलाल श्रेष्ठ लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्