वामदेव गौतम पनि यसरी पुगे चित्रबहादुर केसीको लाइनमा


३ पुस । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले छुटैृ राष्ट्र/राज्यको परिकल्पना गरेर ल्याएको सङ्घीयता लागू नहुने जिकिर गरेका छन् ।  युवा संघले आयोजना गरेको ‘सङ्घीयता, समृद्धि र प्राकृतिक स्रोत साधनको उपभोग’ विषयक विचार गोष्ठीमा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् । उनले अहिलेको सङ्घीयता द्वन्द्व निम्त्याउने खालको भएको भन्दै लागू नहुने जिकिर गरेका हुन् ।

‘अहिलेको संरचनाले देशलाई द्वन्द्वतिर लैजान्छ,’ उनले भने, ‘अहिलेको सङ्घीयताको संरचनाले देशलाई भड्कालोतर्फ लगेर सङ्कटपूर्ण अवस्था खडा गर्छ ।’ उनले सङ्घीयताले देशको द्वन्द्वलाई समाधानतर्फ लैजानुपर्ने भन्दै नेपालको सङ्घीयताले द्वन्द्व सिर्जना गरेको आरोप लगाए ।

कार्यक्रममा बोल्दै उनले मधेसको समस्या नक्कली समस्या भएको पनि ठोकुवा गरे ।  ‘बाहिरको निर्देशनअनुसार नक्कली समस्या जन्माएर समाजलाई द्वन्द्वतर्फ लैजाने काम भएको छ,’ उनले भने ।

उपाध्यक्ष गौतमले तराईलाई एउटा राष्ट्र बनाउन र नेपालबाट टुक्र्याउनका लागि सीमाङ्कन हेरफेरको प्रस्ताव ल्याइएको पनि आरोप लगाए । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताको विरोध गरेको आरोप लागि रहेका बेला गौतमको पनि यस्तो भनाई आएको हो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको राजनीतिक समस्याको समाधान अर्थतन्त्रले गर्ने बताउँदै प्राकृतिक स्रोतसाधन उपयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वअर्थमन्त्री डा रामशरण महतले राजनीतिलाई पेसा बनाएर देशको राजनीति बिग्रेको आरोप लगाए । कार्यक्रममा युवा सङ्घका इन्चार्ज तथा एमाले पोलिटब्युरो सदस्य महेन्द्र पाण्डे तथा सङ्घका अध्यक्ष राजीव पहारीलेले पनि बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्