वार्ताका लागि प्रधानमन्त्रीले लिए अग्रसरता


१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका लागि प्रयास सुरु गरेका छन् । उनले पछिल्लो समय आन्दोलनरत दलहरुलाई वार्ताका लागि आग्रह गर्दै निमन्त्रणा गर्नुले पनि त्यसको संकेत गरेको छ । आन्दोलनरत मधेसी मोर्चालाई वार्ताका लागि आग्रह गरेको दुई दिनपछि ओलीले चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाललाई वार्ताको लागि निमन्त्रणा पठाएका छन् ।

प्रधानमन्त्री ओलीले उक्त पार्टीका अध्यक्षलाई सम्बोधन गरेर वार्ताको लागि आह्वान गरेर निमन्त्रणा पठाएका हुन् ।
प्रधानमन्त्रीले पठाएको पत्रमा नेपालको संविधान जारी भएपछि तराई मधेसलगायतका क्षेत्रमा विभिन्न मोर्चा तथा समूहले जारी गरेको आन्दोलनलाई निष्कर्षमा पु¥याउनका लागि जारी वार्तामा सहभागी हुन निमन्त्रणा गरिएको उल्लेख छ ।

उक्त पार्टीले समग्र चुरेभावर क्षेत्रलाई समेट्ने गरी बेग्लै प्रदेशको माग गर्दै आन्दोलन गर्दै आएको छ । उक्त पार्टीले विगतमा गरेको आन्दोलनका समयमा सरकारले गरेको नौबुँदे सहमति कार्यान्वयनको माग अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्