वालुवाटारमा सत्तारुढ दलबीच खुलस्त छलफल, प्रधानमन्त्रीले भने, ‘बजेट पारित भयो, अब कुरा गरौँ’


२६ असार । प्रधानमन्त्री निवास वालुवटारमा चार घन्टासम्म बसेको सत्तारुढ दलको बैठकमा वर्तमान सरकारको भविष्यदेखि नयाँ सरकार गठनका विषयमा समेत खुलस्त कुराकानी भएको छ ।

स्रोतका अनुसार, यसअघि नौ बुँदे सहमतिबाहेक भद्र सहमति भएको छ र छैन भन्ने गरी दुई कित्तामा बाँडिएका एमाले र माओवादीका नेताहरुले आजको बैठकमा एउटै लाइनमा कुरा गरेका थिए ।

बैठकको सुरुआत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै गाँठो फुकाइदिएका थिए । उनको भनाइ थियो, ‘एमाले र माओवादीबीच एक किसिमको सहमति भएको छ । बजेट पारित नगर्दै त्यही विषयमा दन्तबझान नगरौँ भन्ने मेरो अनुरोध हो । म सधैँभरि प्रधानमन्त्री भइरहन जन्मेको पनि होइन, यहाँ आएको पनि होइन । सरकार कुन दिनसम्म रहन्छ र कुन दिन ढल्छ भन्ने दुविधा पालेर काम गर्न सकिँदैन । जे गर्ने हो, सहमतिका साथ गरौँ ।’

प्रधानमन्त्री ओली बोलेलगत्तै माओवादी अध्यक्ष पुष्पकमल दाहालले बोलेका थिए । उनले नौ बुँदे सहमति र त्यही बेलामा भद्र सहमति समेत भएको भन्दै त्यही अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्नेमा जोड दिएका थिए । उनको भनाइ थियो, ‘बजेट पारित भएपछि नयाँ सरकार बनाउने सहमति भएको हो, अब त्यसलाई कार्यान्वयन गर्नुपर्छ ।’ दाहालले एमालेकै नेतृत्वमा राष्ट्रिय सहमति बन्छ भने आफूहरुलाई आपत्ति नभएको र यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिएर जान सकिने उल्लेख गर्दै तर अरु कसैको नेतृत्वमा हुन्छ भने एमालेले सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्टवादी शक्तिहरुबीच कायम भएको गठबन्धन भत्काउन नहुने पक्षमा मत राखेका थिए । उनको भनाइलाई फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार र नेकपा (माले) का सीपी मैनालीले साथ दिएका थिए ।

निर्णय गर्ने जिम्मा ओली र दाहाललाई

बैठकले सरकारका विषयमा निर्णय लिने जिम्मा दुई ठूला दलका अध्यक्षलाई दिएको छ । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाल पर्सिसम्ममा केही निष्कर्ष निकाल्ने गरी जिम्मेवारी दिएको सहभागी एक नेताले बताए । उनले भने, ‘उहाँहरु पर्सि बस्नुहुनेछ र एउटा निर्णयमा पुग्नुहुनेछ ।’

प्रतिक्रिया दिनुहोस्