दूताबास गुहारेर सांसदहरु भारत जाँदै


१० असार । संसद्को विकास समितिका सांसदहरु ‘विकास–निर्माण हेर्न’ एक साताका लागि भारत जाने भएका छन् । सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा आउँदो असार २४ गते उनीहरु त्यसतर्फ जान लागेका हुन् ।

भारतको गुजरात, मुम्बई र दिल्लीका ठूला भौतिक संरचनाहरुको अवलोकन गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको संयोजन नेपालस्थित भारतीय राजदूताबासले गरिरहेको छ । स्रोतका अनुसार, यो भ्रमण भारतीय निमन्त्रणामा नभएर समितिकै अग्रसरतामा हुन लागेको हो । स्रोतले भन्यो– ‘भारतीय दूताबाससमक्ष अनुरोध पुगेपछि भ्रमणको प्रक्रिया सुरु गरिएको हो ।’ पछि त्यसलाई संस्थागत गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिएको छ ।

१३ जना सांसद र ३ जना कर्मचारी सम्मिलित उक्त भ्रमणमा खर्च कसरी बेहोर्ने भन्नेबारेमा भारतीय दूताबासले जानकारी मागेको थियो । संसद्मा त्यसरी भ्रमणमा जाने खर्च नभएको र राजदूतसँग पहिला नै यसबारेमा कुरा भइरहेको भन्दै दूताबासलाई नै सबै खर्च बेहोरिदिन अनुरोध गरिएको थाहा भएको छ । ‘टिकट र होटल खर्च उतैबाट बेहोर्ने भनेका छन्’– विकास समितिका सचिव हिमलाल सुवेदीले भने– ‘तर अहिलेसम्म त्यसबारेमा लिखित जानकारी आएको छैन ।’

टोलीले भारतीय प्रधानमन्त्री तीन पटकसम्म मुख्यमन्त्री रहेको गुजरातमा निर्माण भएका ठूला परियोजनाका साथै मुम्बईका भौतिक संरचनाहरु हेर्नेछ । बहुचर्चित दिल्ली–आग्रा सडक पनि अवलोकन गर्ने कार्यक्रम छ ।

समितिका सभापति अधिकारीले छिमेकी मुलुकको विकास हेर्नका लागि त्यसतर्फ जान लागेको बताए । उनले भने– ‘ठूलो संरचना के कसरी बनेका छन् र त्यसबाट हामीले के सिक्छौँ भन्ने बुझ्नका लागि त्यसतर्फ जान लागेका हौँ ।’ तर कांग्रेसले संसद अवरुद्ध गरेका कारण असार २३ गते बजेट पारित गर्ने सरकारको योजना सफल नभएमा भ्रमण एक साता पर सर्नेछ ।

को–को छन् टोलीमा ?
सभापति अधिकारीको नेतृत्वको भ्रमण टोलीमा नेपाली कांग्रेसका अनिता देवकोटा, जीवनबहाहदुर शाही, महेन्द्र यादव र सीतादेवी यादव छन् भने एमालेका जनार्दन ढकाल, प्रेमबहादुर आले, बैजनाथ चौधरी र रञ्जनाकुमारी सरकार छन् । त्यसैगरी, माओवादीका कर्णबहादुर विक, अजयशंकर नायक र मधेसी फोरमका दिनेशप्रसाद साह छन् । भ्रमण नाम समावेश भए पनि कांग्रेसका राजेन्द्रबहादुर अमात्य र एमालेकी सीता गिरीले अन्तिममा नभ्याएर बताएर भ्रमणबाट नाम हटाएका छन् ।  टोलीमा संसद् सचिवालयका उपसचिव धनिन्द्र चिमरिया, शाखा अधिकृत शिवदत्त बराल र कम्प्युटर अपरेटर दीपाकुमारी दुलाल पनि छन् ।

साउनमा चीन जाने
भारतबाट फर्केपछि सभापति अधिकारीको नेतृत्वमा अर्को टोली उत्तरी छिमेकी चीनको भ्रमणमा पनि जानेछ । सभापति अधिकारीले चीनका कुन–कुन ठाउँ जाने र कहिले जाने भन्ने तय नभए पनि साउनभित्रै भ्रमण हुने बताए ।

प्रतिक्रिया दिनुहोस्