विज्ञसँगको छलफलपछि पुनः वार्ता


७ साउन । सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ ।

सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए ।

उनले भने , “केही विषय निकै जटिल छन् । ठोस निष्कर्षमा पुग्न विज्ञको राय आवश्यक परेकाले वार्ता केही समयका लागि स्थगित गरिएको छ । अब हुने वार्तालाई अन्तिम बनाउन हाम्रो प्रयास रहनेछ ।” विज्ञको सुझावपछि अर्को चरणको वार्ता हुने उनको भनाइ छ  ।

डा केसीका तर्फबाट वार्ता टोलीका संयोजक डा रञ्जनकुमार सापकोटाले वार्तामा हिजोको तुलनामा केही अगाडि बढेपनि मुख्य विषयमा छलफल नै हुन नसकेको बताए।

उनले भने, “हामी सहमतिको नजिक पुग्न खोजीरहेका छौँ, उहाँहरुले विज्ञसँग छलफलका लागि समय मागेपछि सकेसम्म आजै ७ बजेतिर पुनः वार्तामा बस्ने सहमतिसहित वार्ता स्थगित भएको छ ।”

दुवै पक्ष आजै निष्कर्षमा पुग्न सहमत भएका छन् । वार्ता सकारात्मकरुपमा अघि बढेको बताइएको छ । बिहीबार र शुक्रबार गरी– ८ घन्टासम्म वार्ता भएको छ । डा केसी चिकित्सा क्षेत्र सुधारलगायत विभिन्न माग राख्दै गत १३ दिनदेखि अनशन बसिरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्