विदेशमा रहेका नेपालीलाई सरकारले भन्यो: जहाँ हुनुहुन्छ, त्यही बस्नुस्, बाटो खुलेपछि आउनुस्


काठमाडाैँ, ७ चैत । सरकारले विदेशमा रहेका नेपालीहरुलाई जहाँ जस्तो अवस्थामा बसेको हो, त्यहीँ बस्‍न आग्रह गरेको छ।

कोरोना भाइरस फैलिएका युरोप, खाडी मुलुकसहित ५५ देशबाट आगामी चैत ३० सम्म नेपाल आउन रोक लगाइएको भन्दै सरकारले जोसुकै नागरिक नेपालमा आउन नपाउने प्रष्ट पारेको छ । सिंहदरबारस्थित सूचना तथा सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका सचिव एवंम कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्य सचिव नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीको हकमा पनि अहिलेलाई बाटो बन्द भएको बताए।

‘विश्व स्वास्थ्य संगठनका अनुसार यतिबेला संक्रमित जुन देशमा भए पनि त्यहाँबाट बाहिर निस्कन मिल्दैन’, बिडारीले भने, ‘जहाँ भए पनि त्यहिँ उपचार हुन्छ।’उनले अहिलेका लागि सरकारले युरोपियन मुलुक र खाडीका मुलुकसहित जापान, कोरिया, टर्की र मलेसियाबाट कोही पनि शुक्रबार बेलुकाबाट नेपाल आउन नमिल्ने बताए।  उनले भने, ‘जहाँ हुनुहुन्छ, त्यही बस्नुस् । (प्रतिबन्ध) बाटो खुलेपछि आउनुस् ।’

कोरोना भाइरस नियन्त्रणको प्रयासमा सरकारले बुधबार मात्र युरोप, पश्चिम एसिया, खाडीसहितका ५५ मुलुलबाट चैत ३० सम्म नेपाल आउन रोक लगाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्