विदेशीको भोजमा कडाइ गर्न युवा–विद्यार्थीको माग


२६ मसिर । संविधान संशोधनको विरोध गर्दै आएका अनेरास्ववियु, युवा संघ नेपाल, अनेरास्ववियु (छैटौँ)लगायतका विद्यार्थी संगठनले आइतबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई सिंहदरवारस्थित कार्यालयमै भेटेर ज्ञापनपत्र बुझाएका छन् । दिउँसो साढे दुई बजे सिंहदरवार पुगेका विद्यार्थी र युवा संगठनका नेतासँग परराष्ट्रमन्त्री महतले मुलुकको कुटनीति सडकमा असरल्ल परेको गुनासो सुनाए ।

भारतीय दूताबास अगाडि प्रदर्शन गर्दै आएका युवा तथा विद्यार्थी संगठनहरुको ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री महतले कुटनीति सडकमा असरल्ल हुन नहुने भन्दै घुमाएर असन्तुष्टी जनाए । उनले आफ्नो पालामा कुटनीतिमा सुधार गर्ने पनि बताए ।

युवा संघका अध्यक्ष राजीव पहारीले मन्त्री महतलाई नेताहरु लुरुलुरु दूतावास जाने र भोज खान पुग्ने परम्पराको अन्त्य गर्नका लागि कडा आचारसंहिता बनाउन सुझाव दिएका थिए । पहारीले त्यसो भन्दा मन्त्री महतले प्रतिक्रिया दिएनन् । ‘हामीले मन्त्री महतलाई नेताहरु रातीराती दूताबासको भतेरमा पुग्ने परम्पराको अन्त्य गर्न कडा आचारसंहिता बनाउन सुझाव दियौँ,’ भेटमा सहभागी अखिलका सचिव आरसी  लामिछानेले भने, ‘त्यसको प्रतिक्रियामा मन्त्री महतले सडकमा कुटनीति असरल्ल भएको भन्दै आफ्नो पालामा त्यसलाई केही हदसम्म मर्यादित बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।’

छलफलका क्रममा केहीबेर चर्काचर्की समेत भएको थियो । भित्र निकै हल्लाखल्ला भएपछि  बाहिर बसेका डिएस्पी वसन्त रजौरे मन्त्रीको कार्यकक्षभित्र प्रवेश गरेका थिए ।

भेटमा ती विद्यार्थी संगठनले ९० प्रतिशत बढीले जारी गरेको संविधान कार्यान्वयनमा जानुपर्ने भन्दै संशोधन प्रस्तावको विरोध गरेका थिए ।

2

प्रतिक्रिया दिनुहोस्