विदेशी शक्तिको हस्तक्षेप स्वीकार्य छैनः एमाले सचिव भट्टराई


२२ पुस । नेकपा (एमाले) का सचिव तथा सांसद् योगेश भट्टराईले वाम एकतामा विदेशी शक्तिलाई अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका छन् । शनिबार ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुको सम्मानमा आयोजित कार्यक्रममा भट्टराईले वाम एकता मुलुकको आन्तरिक कुरा भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेका हुन् ।

कुनै पनि शक्तिले वाम एकता भाँड्न नसक्ने दाबी गर्दै भट्टराईले चाँडै नै नेपाली कम्युनिस्ट शक्तिबीच एकता हुने बताए । भट्टराईले संविधानको गलत व्याख्या गरेर निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिकको मतपरिमाण सार्वजनिक नगरेको बताए । उनले अब देश विकासमा लागी आर्थिक समृद्धिको अभियान सञ्चालन गर्नुपर्नेमा समेत जोड दिए।

एमाले प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले पाँच वर्षमा ताप्लेजुङको विकासले कोल्टे फेर्ने बताए । ‘‘‘पाँच वर्षमा ताप्लेजुङका सबै ठाउँमा मोटर बाटो पुग्छ । त्यहाँका जनताले अबको पाँच वर्षमा विकासको अनुभूति गर्न पाउनेछन् ।’ भट्टराईले भने ।

कार्यक्रममा ताप्लेजुङबाट निर्वाचित प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ र टंक आङ्बुहाङले ताप्लेजुङको विकास निर्माणमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्