विद्यालयलाई सहयोग


म्याग्दी १४ भदौ । अन्नपूर्ण गाउँपालिका–४ गाडपारका एक परिवारले आफ्ना स्व। आमाको स्मृतिमा स्थानीय एक विद्यालयलाई करिव रु आठ लाख सहयोग गरेकोे छ ।

गाडपार घर भई हाल बेलायत बस्ने तेजबहादुर र उनकी श्रीमती मनकुमारी शेर्पुजापुनले स्व आमा बोनिसाको स्मृतिमा नारच्याङ आधारभूत विद्यालयमा ६–८ तहको पठनपाठन सहयोग पु¥याउन रु सात लाख ८० हजार प्रदान गर्नुभएको प्रधानाध्यापक सुकबहादुर पुर्जाले बताए।

उहाँका अनुसार शेर्पुजा दम्पतीले एक निजी शिक्षकको तलब बराबर मासिक रु १२ हजारका दरले सो रकम उपलब्ध गराउनुभएको हो । दाता शेर्पुजा दम्पतीको सम्मानमा विद्यालयमा शिलालेख राखिएको छ ।

कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् । बाह्र शिक्षकमध्ये दरबन्दीका चार र अन्य निजी स्रोतका हुन् । विद्यालयमा दुई बालशिक्षा सहयोगी कार्यकर्ता पनि रहेका शिक्षक ओमबहादुर बुढाथोकीले बताइ ।

विद्युत् तार व्यवस्थित
सदरमुकाम बेनीमा विद्युत्को तार व्यवस्थित गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले एबिसी केबुलमार्फत सुरक्षित र व्यवस्थितरूपमा विद्युत् वितरण गर्न लागेको प्राधिकरणका बेनी शाखा प्रमुख नेत्रमणि न्यौपानेले बताउनुभयो ।

केबुल प्रविधिबाट विद्युत् वितरण गर्दा विद्युतीय दुर्घटनाको जोखिम घट्नुका साथै विद्युत् चोरीसमेत नियन्त्रण हुने जनाइएको छ । नाङ्गो तारमा छोए करेन्ट लागेर दुर्घटना हुने भएकाले वितरण प्रणालीलाई सुदृढीकरण र व्यवस्थित गर्न लागिएको केन्द्रका सहायक इञ्जिनीयर कृष्णप्रसाद शर्माले बताउनुभयो ।

बेनीमा १२ किलोमिटरसम्म एबिसी केबुलबाट विद्युत् वितरण गरेर नाङ्गो ताररहित बनाइने प्राधिकरणले जनाएको छ । नाङ्गो तारभन्दा यो तार बढी तौलको हुने भएकाले पहिले पोल रहेका ठाउँको बीच–बीचमा थप पोल राख्न लागिएको छ । बजार क्षेत्रमा एक सय थप पोल राखिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्