विद्युत् प्राधिकरणमा कुलमानले रिसइवी साँध्न थाले


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणभित्र आतंक मच्चाउन थालेका छन् । करिब १ दर्जन वरिष्ठहरुलाई पन्छाउँदै ऊर्जा मन्त्री जनार्दन शर्माको निगाहमा प्राधिकरणको कार्यकारी निर्देशक बनेका घिसिङले आफ्नो नियुक्तिपछि विरोध र असहयोग गर्ने उच्च तहका कर्मचारीहरुप्रति प्रतिशोध साँध्न थालेका छन् ।

कुनै प्रक्रिया नै नपु-याई कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेपछि कानुनी उपचारको बाटो खोजेका तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक सुनीलकुमार ढुंगेललाई घिसिङले सो जिम्मेवारीबाट हटाएका छन् । प्राधिकरणका चार जना उच्च तहका कर्मचारीहरुले सर्वोच्च अदालतमा घिसिङविरुद्ध उजुरी दिएका थिए र त्यसमा अहिले हटाइएका ढुंगेल पनि थिए । ढुंगेलसँगै रिट दायर गर्नेहरुमा उपकार्यकारी निर्देशक शेरसिंह भाट, प्रशारण निर्देशनालयका प्रमुख कन्हैयाकुमार मानन्धर, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख सुरेन्द्रराज भण्डारी थिए । उनीहरुले घिसिङको नियुक्ति खारेज गर्न अन्तरिम आदेशको माग गरेका थिए ।

आफूविरुद्ध उभिएका १२ औं तहका ढुंगेललाई तनहुँ हाइड्रोपावरबाट हटाएर ११ औं तहका प्रदीपकुमार थिकेलाई जिम्मेवारी दिइएको छ । कार्यकारी निर्देशक हुनुअघि घिसिङ ११ औं तहमा थिए भने ढुंगेल १२ औं तहका कर्मचारी हुन् । यसैगरी, प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत आयोजनामा पनि घिसिङले आफू अनुकूलका मानिस पठाएका छन् । चिलिमे हाइड्रोपावरका प्रशासकीय प्रमुख ११ औं तहका रामगोपाल सिवाकोटीलाई फर्काएर १० औं तहका दामोदरभक्त श्रेष्ठलाई पठाइएको छ । सो आयोजना घिसिङले लामो समय काम गरेका थिए । तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमेको प्रमुखबाट हटाएकी थिइन् ।

ऊर्जामन्त्रीको निर्देशनमा कार्यकारी निर्देशक घिसिङले केही जलविद्युत् आयोजनाका प्रमुखहरु पनि फेरेका छन् । मध्यभोटेकोसी जलविद्युत आयोजनामा कालीगण्डकी जलविद्युत गृहका श्रीराम पाण्डेलाई लगिएको छ भने कालीगण्डकीमा मध्यमस्र्याङ्दीको राजेश पाण्डेलाई पठाइएको छ । मध्यमस्र्याङ्दीमा भने पशुपति गौतमलाई पठाउने टुंगो लगाएको छ । यसैगरी, रसुवागढी जलविद्युतमा रहेका प्रवल अधिकारीलाई फर्काएर लोकेन्द्र थापालाई पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्