विनियोजन विधेयक माथिको छलफल सकियो


२१ असार । व्यवस्थापिका–संसद्मा विनियोजन विधेयक माथिको छलफल समाप्त भएसँगै बुधबारदेखि सम्बन्धित मन्त्रीले छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यतालिका सार्वजनिक भएको छ ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भोलि वाणिज्य, विज्ञान तथा प्रविधि, जनसङ्ख्या तथा वातावरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, सिँचाइ, आपूर्ति, सामान्य प्रशासन, पशुपक्षी विकास, सूचना तथा सञ्चार, स्वास्थ्य, भूमिसुधार र कृषि मन्त्रालयमाथिका प्रश्नको जवाफ मन्त्रीले दिनेछन् ।
यही असार ६ गतेदेखि सुरु भएको विनियोजन विधेयकमाथिको छलफलमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई एकमुष्ट रुपमा रु दुई लाख अनुदान दिनुपर्ने माग राखेर संसद् बैठक अवरुद्ध गरेका कारण केही दिन पर धकेलिएको हो । कांग्रेसले निरन्तर छ दिनसम्म संसद् अवरोध गरेपछि प्रमुख तीन दलबीच तत्काल एकमुष्ट रुपमा रु एक लाख पचास हजार अनुदान रकम दिने सहमति भएपछि सदन निरन्तर अगाडि बढेको हो ।

मन्त्रीहरुले जवाफ दिएपछि आगामी आवका लागि प्रस्तुत गरिएको बजेट पारित गर्ने तयारी गरिएको छ । वर्तमान सरकारले गत जेठ १५ गते बजेट प्रस्तुत गरेको थियो । व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि असार २२ गते बिहान ११ बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस्