विपत् तथा दैवी प्रकोपको समयमा अपांगता भएका मानिस बढी प्रभावित


काठमाडौँ, २० साउन । नेपाल अपांग महिला एशोसिएशनले अपांगता भएका मानिसलाई विपत्सँग सम्बन्धित सबै प्रक्रियामा सहभागी गराउन माग गरेको छ । आईतावार भएको छलफल कार्यक्रममा एशोसिएशनका अध्यक्ष निर्मला धितालले विपत् तथा दैवी प्रकोपको समयमा अपांगता भएका मानिस धेरै प्रभावित हुने हुँदा उनीहरुलाई विपत्सँग सम्बन्धित सबै प्रक्रियामा सहभागी गराउन माग गरेकी हुन् ।

धितालले सम्भावित जोखिम रहेका मुलुकका विभिन्न स्थानमा बाढीपहिरो, हावाहुरी भूकम्पलगायत विपत्मा पूर्वसूचना प्रणालीका बारेमा उनीहरुलाई विशेष जानकारी गराउन आग्रह पनि गरेकी छिन् । अध्यक्ष धितालले अपांगता समावेशी विपत् जोखिम न्यूनीकरणका लागि सम्बन्धित क्षेत्रको सामाजिक स्रोतको नक्सांकन गर्नुपर्नेमा जोड दिँदै उनीहरुको तथ्यांक संकलन, योजना निर्माणलगायत कार्यमा स्वायत्तता र प्रतिष्ठालाई पनि ख्याल गर्नुपर्ने बताईन् ।

न्यूनदृष्टि भएका व्यक्ति लागि अधिकारकर्मीद्वय सरीता लामिछाने र नीला बमले हाल निर्माण गरिन लागेका भवन तथा संरचनालाई अपांगमैत्री बनाउनुपर्ने सुझाव दिएकी छिन् । एशोसिएशनले विभिन्न संस्थासँग समन्वय गरी हालै काठमाडौँ, ललितपुर, काभ्रे, मोरङ, बाँके, कञ्चनपुर र नवलपरासीका अपांगता भएका २० जनालाई विपत् व्यवस्थापनका लागि आवश्यक पूर्वतयारीबारे प्रशिक्षण सम्पन्न गरेको छ । मुलकमा करीब छ लाख अपांगता भएका मानिसमध्ये ४४ प्रतिशत महिला रहेको एशोसिएशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्