विप्लवसँग कति छन् हतियार ? सुरक्षा परिषदमा लेखाजोखा


१० असार । सशस्त्र युद्ध गर्ने घोषणासहित दुई वर्षअघि मोहन बैद्यबाट छुटिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी) ले के गरिरहेको छ ? अहिले सुरक्षा निकायको ध्यान यसमा गइरहेको छ ।

सानातिना घटनाबाहेक खासै सशस्त्र गतिविधि नगरेको माओवादी पक्कै पनि यत्तिकै बसिरहेको छैन भन्ने सूचना गृहमन्त्रालयमा आइरहेका छन् । नेपाली सेनाले पाएको सूचनामा पनि विप्लवका कार्यकर्ता चुप लागेर बसेका छैनन् भन्ने नै देखिएको छ ।

‘एकीकृत क्रान्ति’ भन्दै सशस्त्र आन्दोलन गर्ने घोषणा गरेका विप्लवले अहिले पार्टीलाई त्यही दिशामा सक्रिय गराइरहेको विश्लेषण सुरक्षासम्बद्ध स्रोतको छ । राष्ट्रिय सुरक्षा परिषद्ले हालै प्रधानमन्त्री, रक्षामन्त्री र गृहमन्त्रीलाई बुझाएको एक प्रतिवेदनमा विप्लव माओवादीको समग्र अवस्थाको विश्लेषण गरिएको छ ।

‘युद्धका बेला घोराहीलगायतका ठाउँका सेनाबाट र अरु कतिपय ठाउँका प्रहरीबाट खोसेका हतियार उनीहरुले बुझाएका छैनन् । ती हतियार अहिले विप्लवका हातमा पुगेका हुन सक्छन् ।’

कति छन् हतियार ?

सुरक्षा परिषद् स्रोतले अहिले विप्लबसँग कति हतियार छन् भन्ने लेखाजोखा गरिरहेको छ । एक उच्च सुरक्षा अधिकारीले भने– ‘युद्धका बेला घोराहीलगायतका ठाउँका सेनाबाट र अरु कतिपय ठाउँका प्रहरीबाट खोसेका हतियार उनीहरुले बुझाएका छैनन् । ती हतियार अहिले विप्लवका हातमा पुगेका हुन सक्छन् ।’

त्यतिबेला माओवादीले एसएलआर, एलएमजी, एसएमजीलगायतका चार सय थान हतियार बुझाएको थिएन । सातवटा क्यान्टोनमेन्टमा खडा गरिएका हतियारका कन्टेनरमा भएको विवरण हेर्दा राज्यबाट लुटिएका ती हतियार नपाउँदा नेपाली सेनाले अनमिनसहितको संयुक्त टोलीसमक्ष उतिबेलै लिखित विवरण उपलब्ध गराएको थियो । तर, ती हतियारको नाम, संकेत नम्बर, प्रकारसहितको विवरण आएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले चित्तबुझ्दो जवाफ दिनुको साटो ‘खोलाले बगाएको’ अभिव्यक्ति दिएका थिए । एक उच्च सैनिक अधिकारीले भने– ‘ती खोलाले बगाएका भनिएका हतियार अहिले विप्लवको हातमा पुगेका हुन सक्छन् ।’

अरु हतियार पनि छन्

ती हतियारबाहेक अरु पनि हतियार विप्लवसँग हुन सक्ने सुरक्षा स्रोतको भनाइ छ । नेपाल–भारत खुल्ला सीमा भएका कारण उताबाट हतियार ल्याउन गाह्रो छैन । झन् अहिले कुनै हल्लाखल्ला नभएको बेला भएका कारण सजिलो भएको विश्लेषण गरिएको छ ।

कति छ शक्ति ?

बेलाबेलामा राता क्याप लगाएर राजधानीमा जुलुश आयोजना गर्ने, व्यापारीबाट चन्दा असुल गर्ने, एनसेलका टावरमा आक्रमण गर्नेबाहेक खास काम विप्लब माओवादीले गर्न सकेको छैन । तर, यहीबीचमा अरु धेरे आक्रामक काम नगरी हतियार संकलनमा लागेको हुन सक्ने विश्लेषण सुरक्षा स्रोतको छ । एक जानकार स्रोतको भनाइ छ– ‘विप्लवसँग अहिले ०५८ सालमा माओवादीसँग भए जति हतियार भएको अनुमान छ ।’ स्रोतले थप्यो– ‘कुनै पनि बेला कहीँ केही खतरा हुन सक्छ भनेर सम्बन्धित ठाउँमा सजग गराइएको छ ।’

गृहमन्त्री चिन्तित

यसैबीच, गृहमन्त्री शक्तिबहादुर बस्नेत आफ्नै पूर्वसहकर्मी विप्लवको व्यवहारबाट चिन्तित देखिएका छन् । विप्लवको सादगीपन, सक्रियता, मानिसलाई कन्भिन्स गर्न सक्ने क्षमता र कार्यकर्तासँग घुलमिल हुने कलासँग परिचित बस्नेतलाई ती युवा नेताले मोहन बैद्य वा मोहनविक्रम सिंहजस्तो पुस्तकमा मात्र क्रान्तिका कुरा गरेर बस्छन् भन्ने लागेको छैन । उनले आफ्ना निकटस्थहरुसँग भन्ने गरेका छन्– ‘पछि के हुन्छ थाहा छैन, विप्लवजीले केही न केही वितण्डा चाहिँ मच्चाउनुहुन्छ । मेरै पालामा चाहिँ केही नभइदिए हुन्थ्यो ।’

प्रतिक्रिया दिनुहोस्