विप्लव माओवादीद्वारा साउन १० मा नेपाल बन्द घोषणा


३१ असार । नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गरेको नेकपा (माओवादी) ले सर्लाहीको सागरनाथमा सुकुम्बासीमाथि दमन भएको भन्दै त्यसका विरुद्ध साउन १० गते नेपाल बन्द घोषणा गरेको छ । उक्त पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले शुक्रबार वक्तव्य प्रकाशित गरी सागरनाथमा सुकुमवासी वस्तीमाथि राज्यद्वारा गरिएको विभत्स दमनको प्रतिरोध गर्न बन्द आयोजना गरिएको बताएका छन् ।

प्रवक्ता प्रकाण्डका अनुसार, बाढीपहिरो पीडित र सुकुमबासी गरी ०५० सालबाट सागरनाथमा बस्दै आएका सुकुमबासी वस्तीका बासिन्दामाथि गत असार २१ गते प्रशासनले हस्तक्षेप गरी गोली चलाउँदा २५ जना घाइते भएका छन् भने ३५ घर तोडफोड भएका छन् । उनले मोटरसाइकल र साइकल गरी ६५ वटा सवारी साधन नष्ट भएको पनि दावी गरेका छन् । २१ महिलासहित ३६ जना सुकुमबासीलाई गिरफ्तार गरी यातना दिइएको पनि उनले बताएका छन् ।

बारा, बाँकेको कोहलपुर, जाजरकोट, पोखरा, काठमाडौंलगायतका जिल्लामा पनि सुकुमबासी वस्ती माथि दमन चलाइएको उनले आरोप लगाएका छन् ।

उक्त घटनाका विरुद्धमा साउन १ गते पत्रकार सम्मेलन र देशव्यापी भण्डाफोर गर्ने, २ गते देशव्यापी चक्काजाम कार्यक्रम (विहान ९–११ बजे) गर्ने, ३ गते देशव्यापी अन्तरक्रिया गर्ने, ५ गते सुकुमबासी वस्ती र सदरमुकाममा जनप्रदर्शन गर्ने र १० गते नेपाल बन्द गर्ने वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्