विप्लव समूहले राखेका बम निस्क्रिय पारियो


३० वैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मौन अवधि सुरु भएपछि केही ठाउँमा हतियार बोकेका व्यक्तिहरु पक्राउ पर्नुका साथै केही ठाउँमा राखिएका बम सुरक्षा फौजले निस्क्रिय तुल्याएको छ । स्थानीय तह निर्वाचनको मौन अवधिमा सुरक्षाकर्मीले गरेको चेकजाँचको क्रममा छ जनालाई पक्राउ गरेको छ भने पेस्तोल खुकुरीसहितको हातहतियार नगदसमेत बरामद गरेको छ ।

धादिङको खनियाबास गाउँपालिका–५ सत्यदेवीमा प्रहरीले गरेको चेकजाँचको क्रममा सोही स्थानका २६ वर्षीय युल तामाङ र २७ वर्षीय जयकुमार तामाङलाई शुक्रबार राति युएसए पेस्तोल एक थान, यसको गोली तीन थान र खुकुरी एक थानसहित पक्राउ गरिएको छ ।

चेकजाँचको क्रममा फेला परेको बा७७प १९६२ नं को मोटरसाइकल र रु ४१ हजार ७ सय नगदसमेत बरामद गरिएको थियो ।

यसैगरी धादिङकै त्रिपुरा सुन्दरी गाउँपालिका–१ सल्यानटारबाट चार जना पक्राउ परेका छन् । तीन खुँडासहित त्रिपुरासुन्दरी गाउँपालिका–३ का २४ वर्षीय उत्तम अधिकारी, २४ वर्षीय प्रचित अधिकारी, २२ वर्षीय प्रकाश थापामगर र ३० वर्षीय नवीन थापालाई पक्राउ गरिएको हो ।

यसैगरी नेकपा विप्लव समूहले राजमार्गका तीन ठाउँमा राखिएको बम आज बिहान संयुक्त सुरक्षा फौजले निस्क्रिय पारेको छ । सिद्धलेक गाउँपालिकाको कालुपाण्डे मार्गमा राखिएको प्रेसरकुकर बम, पृथ्वीराजमार्गको घाटबेसीमा राखिएको सिलिन्डर बम र महादेवबेसी नजिककै राखिएको बम सेना प्रहरी र सशस्त्र प्रहरीको टोलीले निस्क्रिय पारेको हो ।

प्रतिक्रिया दिनुहोस्