विप्लव समूह कसले आविष्कार गरेको हो ?


३१ जेठ । नेत्रविक्रम चन्द विप्लव माओवादीका कार्यकर्ता पछिल्लो समय मोवाइलको टावर जलाउने काममा सक्रिय भएको भन्दै भूमि अधिकारवादी नेता सरस्वती शुब्वाले त्यसको आलोचना गरेकी छिन् । उनले समाजिक सञ्जाल फेसबुकबाटै त्यस्तो आलोचना गरेकी हुन् ।

उनले मोवाइल फोनको टावर जलाउनु भनेको विकास जलाउनु हो भन्ने तर्क गरेकी छिन् । ‘मोवाइल फोनको टावर जलाउनु भनेको विकास जलाउनु हो, जनता सताउनु हो, देश र जनताको भविष्य जलाउनु हो,’ उनले भनेकी छिन्, ‘हत्या सरहको हिंसा गर्नु हो ।

मानिस मारेर र भौतिक संरचना भत्काएर क्रान्ति गरेको भ्रम नफैलाऔँ ।’ शुब्वाले नेपाली जनता सचेत भइसकेको दाबी गरेकी छिन् । ‘नेपालले भारत र चीनजस्तो देशसँग प्रतिष्पर्धा गर्नुपर्ने छ । यस्तो अवस्थामा देशको भौतिक संरचना भत्काउनु भनेको अरु कसैको इशारामा चल्नु हो । देश भत्काउने काम गर्नु हो,’ उनले भनेकी छिन् ।

उनले जाति, धर्म र सिद्धान्तको खोल हाल्दैमा हिंसा र अतिवाद जायज नबन्ने पनि तर्क गरेकी छिन् । ‘अमृत नाम राख्दैमा विष अमृत बन्दैन, जब नेपालमा स्थिरता, विकास र उन्नतिको सम्भावना बढ्छ तब नयाँ खाले अतिवादी जमात आविष्कार गरिन्छ,’ शुब्बाले भनेकी छिन्, ‘विप्लव समूह कसले आविष्कार गरेको हो ?’

प्रतिक्रिया दिनुहोस्