विभिन्न पार्टीबाट नेकपा (एमाले)मा समाहित हुन चाहनेका लागि ढोका खुला 


६ भदौ  । नेकपा (एमाले) पार्टी केन्द्रीय कमिटीको सातौं बैठक आगामी असोज ५–७ मा काठमाडौंमा आयोजना हुने भएको छ । एमाले मुख्यालयमा जारी स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका लागि स्थायी कमिटीले अध्यक्षका तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, महासचिवका तर्फबाट प्रस्तुत हुने संगठनात्मक प्रतिवेदन, केन्द्रीय निकायहरुका प्रतिवेदनहरू तथा पार्टीको भावी कार्ययोजना लगायतका कार्यसूची समेत तय गरेको छ ।

त्यसैगरी बैठकले स्थानीय तहहरूको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी उपयुक्त संख्यामा स्थानीय तह निर्धारण गर्न माग गरेको छ । ‘नेपालको संविधानको प्रावधानअनुसार स्थानीय तहहरूको संरचना गर्न स्थानीय तह पुनःसंरचना आयोग क्रियाशील छ । हाम्रो पार्टी उक्त आयोगले संविधानको व्यवस्था र आफूलाई तोकिएको मापदण्ड एवम् कार्यशर्त अनुसार छिटोभन्दा छिटो काम सम्पन्न गरी प्रतिवेदन प्रस्तुत गरियोस् र पूर्ववर्ती सरकारले प्रस्तुत गरेको कार्यतालिका अनुसार स्थानीय निर्वाचन होस् भन्ने मान्यतामा दृढ छ,’ बैठकपछि एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय तहहरूको पुनःसंरचना गर्दा जनभावनालाई ध्यानमा राख्दै संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी उपयुक्त संख्यामा स्थानीय तह निर्धारण हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । स्थायी कमिटीको बैठकले आ–आफ्नो जिल्लामा स्थानीय तहको पुनःसंरचनासम्बन्धी सुझावहरू आयोगसमक्ष अविलम्ब प्रस्तुत गर्न स्थानीय पार्टी कमिटीहरूलाई आह्वान गरेको छ ।’

बैठकले विभिन्न पार्टीबाट नेकपा (एमाले)मा समाहित हुन चाहने व्यक्तिहरूसँग छलफल गरी आवश्यक निर्णय गर्न र उपयुक्त जिम्मेवारी दिने सम्बन्धमा सुझाव पेश गर्न महासचिव कमरेड ईश्वर पोखरेलको संयोजक तथा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ्ग, गोकर्ण बिष्ट र राधाकृष्ण मैनाली सदस्य रहेको कार्यदल गठन गरी जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्