विमानस्थल छाड्दै गर्दा ओलीले भने–‘एक महिनामा सरकार गठन गर्न नसक्नेले के निर्वाचन गर्लान्’


९ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस–माओवादीको गठबन्धन निर्वाचन नगर्ने नियतमा रहेको दाबी गरेका छन् । नियमित स्वास्थ्य उपचारका क्रममा थाइल्याण्ड प्रस्थान गर्नु अघि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले यस्तो दाबी गरेका हुन् ।

‘एक महिनासम्म सरकार गठन गर्न नसक्ने यो गठबन्धनले नियमित समयमा निर्वाचन गर्छ भन्ने विश्वास छैन,’ ओलीले भने, ‘यो गठबन्धन देश र जनताका लागि होइन अरु कुनै शक्ति र कार्यकर्ताका लागि बनेको हो । त्यसैले यसले देश र जनताको हितमा काम गर्दैन ।’ अध्यक्ष ओलीले नेकपा एमाले नेतृत्वको सरकारले सार्वजनिक गरेको कार्यतालिकामा तीनै वटा निर्वाचन गराउन नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई सुझाव पनि दिए ।

‘उहाँहरुको नियत समयमा निर्वाचन नगर्ने छ,’ ओलीले भने, ‘०७४ माघसम्ममा तीन वटै निर्वाचन सम्पन्न नभए देश अप्ठ्यारोमा जान्छ ।’ ओली नियमित उपचारसँगै बैँङककमा केही दिन आराम गर्ने पनि कार्यतालिका रहेको प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनी दिउँसो १ बजेर ३० मिनेटको उडानबाट बैँङ्कक उड्ने अधिकारीले जानकारी दिए । ओलीको भ्रमण बैँङ्कक बसाई केही दिन लम्बिने पनि सम्भावना रहेको छ ।

ओलीलाई विदाई गर्न उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य किरण गुरुङ, कार्यालय विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठलगायत विमानस्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्