विमानस्थल शोकमग्न, प्रमले भने–‘म साथमा छु’


८ असार । अफगानिस्तानको काबुलमा आत्मघाती बम आक्रमणमा परी मारिएका १२ नेपालीको शव त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा ल्याएसँगै त्यहाँको वातावरण नै शोकाकुल बनेको थियो ।

घण्टौँदेखि मृतकका परिवारजन र आफन्त शव बुझ्न विमानस्थल वरपर बसेका थिए । अफगानिस्तानको काबुलवाट शव वोकेर आएको नेपाल वायुसेवा निगमको जहाज जब दिउँसो २ बजेर ३७ मिनेट जाँदा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भयो । त्यसपछि साना बच्चासहित विमानस्थल पुगेका मृतकका आफन्तहरुमा रुवावासी सुरु भयो ।

शव राखेको १२ बाकस (कफिन) देखेपछि मृतकका आफन्तले आँशु थाम्न सकेनन् । उनीहरुसँगै आफन्त र शुभेच्छुकका पनि आँखा आँसुले भरिए ।  विमानस्थलको वातावरण नै स्तब्ध बन्यो ।

नेपालीका शव बुझ्न र श्रद्धाञ्जलि दिन विमानस्थल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पनि भावुक बने । अविरल वर्षाको समेत प्रवाह नगरी विमानस्थलमा शव कुरेर बसेका आफन्तहरुको भावुक चेहेराले अरुलाई पनि थप भावुक बनाएको थियो ।

कफिनमा आएका शवमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले सरकार साथमा रहेको भन्दै मृतकका आफन्तलाई सान्त्वना दिए । उनले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दोष नेपालीको हत्या ‘कायरतापूर्ण र अमानवीय’ भएको भन्दै उद्धार कार्यपछि मृतकका परिवारलाई कसरी सहयोग गर्ने भन्ने सम्बन्धमा छलफल गरेर अघि बढ्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्