विराटनगरको मेयरमा उठ्ने चर्चाबारे यसो भन्छन् लालबाबु पण्डित


२२ चैत । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले योग्यतम उम्मेद्वार उठाउने तयारी गरेको छ । जहाँसम्म विराटनगर उप–महानगरपालिकाको उम्मेद्वारका रुपमा मेरो नाम पनि चर्चा आएको छ । तर, मैले आफैँले भने मेयरमा उठ्ने घोषणा भने गरिसकेको छैन ।

विगतमा देशलाई नै हाँक्ने गरी मैले सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी सफल ढंगले पूरा गरेको हुँ । तसर्थ, अहिले विराटनगरको मेयरमा मेरो चर्चा चल्नुलाई अस्वाभाविक भन्न मिल्दैन । विराटनगर त्यस्तो ठाउँ हो, जहाँ पञ्चायतकालमा पनि जनपक्षीय उम्मेदवारले जितेका थिए ।

त्यति मात्र होइन, ०५४ सालमा पनि एमालेकै उम्मेद्वारले मेयर जितेको ठाउँ हो विराटनगर । त्यसैले यस पटक पनि विराटनगरमा एमालेकै झण्डा फहराउनुपर्छ भनेर एमालेले योग्यभन्दा योग्य उम्मेद्वारको खोजी गरेको हो ।

विराटनगरलाई महानगरपालिका बनाउनुपर्छ र त्यसलाई प्रदेश नम्बर एकको राजधानी बनाउनुपर्छ भनेर सबैभन्दा बढी एमालेले लबिङ गर्दै आएको छ । यी सबै कारणले पनि एमालेले विराटनगरमा जित्ने उम्मेद्वारको खोजी गर्दा जनताको पङ्क्तिबाट मेरो पनि चर्चा भएको हुनसक्छ । मैले भनिसकेँ, यसलाई मैले अस्वाभाविक रुपमा लिएको छैन ।

अहिले उपमहानगरपालिका नै रहेको अवस्थामा मैले विराटनगरबाट अहिले नै उम्मेद्वार बनि हाल्नुपर्छ भनेर निर्णय नै गरिहालेको अवस्था छैन । एमालेमा निकै ठूलो युवा पङ्क्ति छ । म त्यो पङ्क्तिलाई अघि बढाउनुपर्छ भन्ने पक्षमा छु । एमालेले पनि ‘लालबाबु नै उम्मेद्वार हो’ भनेर कुनै पनि निर्णय गरिसकेको छैन । यस्तो अवस्थामा म विराटनगरको उम्मेद्वार हुँ भनेर भनिहाल्ने र निर्णय नै गरिहाल्ने अवस्था छैन । अहिले म यति मात्र भन्न सक्छु, विराटनगरमा एमालेले जित्नुपर्छ । त्यसका सकेसम्म युवा र जित्ने उम्मेदवार एमालेले छान्नुपर्छ ।

अहिले स्रोत–साधनका हिसाबले पनि विराटनगरलाई काठमाडौँपछिको शक्तिशाली थलो मानिन्छ । पहाड–मधेसको सद्भाव कायम गर्न र प्रदेश नम्बर एकको राजधानी बनाउन पनि विराटनगरलाई महानगरपालिका बनाउनुपर्छ भनेर मैले निकै लबिङ गरेँ । तर, विराटनगरकै जनताको भोटबाट जितेका कतिपय जनप्रतिनिधिले विराटनगरलाई महानगरपालिका बन्न दिनु हुँदैन भनेर लागे । अझ नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले त महानगरपालिकाको अवधारणा एमालेले ल्याएको हो समेत भने । ती दलहरुले विराटनगर महानगरपालिका भयो भने एमालेको पकड बलियो हुन्छ र हामी कमजोर बन्छौं भनेर खुलेरै त्यसको विरोधमा लागे ।

जसको परिणाम विराटनगर महानगरपालिका बन्नबाट वञ्चित भयो । त्यो सबै कुरा त्यहाँका जनताले थाहा पाएपछि अहिले काँग्रेस र माओवादीका साथीहरु ‘लौ अब हामी झन् बर्बाद हुने भयौँ’ भन्दै चुनावको मुखमा हामी विराटनगरलाई महानगरपालिका बनाउन लाग्छौँ भनेर झूट बोलिरहेका छन् । निर्णय हुने बेलामा अरुको उक्साहटमा गलत निर्णय गर्ने उनीहरुलाई विराटनगरका जनताले पराजित बनाउने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्