विराटनगरबाट युवा संघको उद्घोष, मधेसवादी दललाई राजधानीबाट पनि लखेट्छौँ


९ असार । युवा संघ नेपालले राजधानी केन्द्रित आन्दोलन गरिरहेका केही मधेस केन्द्रित दललाई लखेट्ने चेतावनी दिएको छ ।

बिहीबार मोरङ्ग जिल्ला कमिटिले आयोजना गरेको ‘तराई–मधेसमा बजेट बहस’ कार्यक्रममा बोल्दै युवा संघका उपाध्यक्ष रमेश पौडेलले यस्तो चेतावनी दिएका हुन् ।

‘युवा संघ नेपालले विगतमा सञ्चालन गरेको मधेस सम्वाद तथा जागर अभियानपछि नेपालबाट तराई अलग गर्ने राष्ट्रविरोधी अभिव्यक्ति दिने कथित आन्दोलनकारी तराई–मधेसबाटै गायव भए,’ उपाध्यक्ष पौडेलले भने, ‘तराई–मधेसका जनताले नै लखेटेपछि अहिले फेरि राजधानीमा अनशन र विभिन्न वाहनामा आन्दोलन गरिरहेको छन्, युवा संघले उनीहरुलाई त्यहाँबाट पनि लखेट्छ ।’

पौडेलले एमाले नेतृत्वको सरकारले ल्याएको बजेट मधेसमैत्री भएको भन्दै अहिले एमालेलाई मधेसविरोधी भन्नेहरु पानी फोका जस्तै फुट्दै गएको दाबी गरे । उनले प्रधानमन्त्री ओलीको प्रष्ट अडानकै कारण नेपाल विरोधी भ्रम छर्ने भारवादीको समेत दिन हराम भएको दाबी गरे ।

‘एमाले नेतृत्वको सरकारले बजेट ल्याएपछि विखण्डनवादी सोँचका केही मधेसकेन्द्रित दलहरु र नेताहरुको आन्दोलन तुहिइएको छ,’ पौडेलले भने, ‘राजधानी केन्द्रित तथाकथित आन्दोलन पनि त्यसैगरी तुहिएर जान्छ ।’ पौडेलले प्रधानमन्त्री ओली दक्षिण एसियामै प्रष्ट अडान भएको स्वप्न द्रष्टा नेता भएको पनि दाबी गरे ।

सम्वाद कार्यक्रममा बोल्दै युवा संघका सचिव पर्शुराम वस्नेतले युवा संघ नेपाल मधेसवादी जनताको मनमनमा रहेको बताए । प्रवक्ता प्रभातविक्रम कटुवालले बजेटको प्रभावले तरार्इ–मधेसका विखण्डकारी शक्तिहरु झोली–तुम्वी बोकेर काठमाडौँ भागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्