विराटनगरमा घरजग्गाको कर चार गुणाले वृद्धि


२३ साउन । विराटनगर उपमहानगरपालिकाले यसै आर्थिक वर्षदेखि लागू हुने गरी घर जग्गा करको दस्तुरमा चार गुणाले वृद्धि गरेको छ । सर्वसाधारणले थेग्नै नसक्ने गरी दस्तुर बढाइएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

न्यूनतम सुविधासमेत उपलब्ध गराउन नसकिरहेको उपमहानगरपालिकाले जनताको ढाड सेक्ने गरी घरजग्गा कर बढाएपछि यो अव्यावहारिक निर्णयको सर्वत्र आलोचना हुन थालेको छ । दश धुर जग्गामा एकतले पिलर हालेको घरको बढीमा रु ४०० सम्म कर तिरेका नगरवासीले यही साउनदेखि अब दुई हजारसम्म कर तिर्नुपर्ने भएको छ । विराटनगर उपमहानगरपालिकाका वित्तीय व्यवस्थापन महाशाखाका प्रमुख अर्जुन थपलियाले घरको कर बढेको पुष्टि गरे ।

बढेको करले ठूला करदातालाई राहत पुग्ने तर साना करदाता भने मार्कामा पर्ने थपलियाले जानकारी दिनुभयो । वैज्ञानिक हिसाबले कर बढेको छ उहाँले भन्नुभयो, जसले प्रत्येक वर्ष रु ४० लाखसम्म तिरिरहेको छ त्यस्ता करदातालाई यो निर्णयबाट राहत पुग्ने छ । दुई वर्षअघि मालपोत कार्यालयको मूल्याङ्कनका आधारमा घरजग्गा कर बढाउँदा स्थानीयवासीहरुले आन्दोलन गरेका थिए । त्यसपछि आव २०७२÷७३ मा घरजग्गा कर बढाइएको थिएन ।

घरको मूल्याङ्कन गर्दा सुरुको अङ्क ६३५ ले गणना गरी ० दशमलव ५ प्रतिशतले गुणा गरिन्थ्यो । अहिले सुरुकै अङ्क बढाएर एक हजार ५०० पु¥याएको छ र एक हजार ५०० लाई एक प्रतिशतले गुणा गरेर दस्तुर लिने गरेको वित्तीय व्यवस्थापन शाखाले जनाएको छ ।

ठूला करदाताको हकमा भने पहिलेको १ दशमलव ५ प्रतिशतलाई घटाएर ० दशमलव ४ प्रतिशतमा झारिएको छ । नयाँ नियमअनुसार जग्गाको कर भने जिल्ला मालपोत कार्यालयले निर्धारण गरेअनुसारकै सरकारी दर रेटअनुसार रहेको शाखाको भनाइ छ ।

वित्तीय व्यवस्थापन महाशाखा प्रमुख थपलियाले सरकारको निर्णयअनुसार नै घरजग्गा करको दस्तुर उपमहानगरपालिकाले वृद्धि गरेको बताए।
उपमहानगरपालिकाका ठूला करदातामा नोबेल मेडिकल कलेज, नेपाल आयल निगम, कृषि सामग्री संस्थान, नेसनल ट्रेडिङलगायतका सरकारी कार्यालय र अस्पताल छन् । नोबेलले गत आवमा घरजग्गा करबापत रु ४७ लाख उपमहानगरपालिकामा बुझाएको थियो ।

ठूला करदाताको दस्तुर घटेपछि नोबेलले बढीमा रु २० लाखसम्म कर बुझाए हुन्छ । पछिल्लो तथ्याङ्कअनुसार विराटनगरमा २० हजार ५०० को हाराहारीमा करदाता छन् । जसमा ठूला करदाता २००को सङ्ख्यामा पनि छैनन् । यसको प्रत्यक्ष मार अन्ततः साना करदातालाई नै पर्ने देखिन्छ ।

गत आवमा घरजग्गा करबाट नगरपालिकाले रु सात करोड ५० लाख उठाउने लक्ष्य लिएकामा रु आठ करोड २० लाख सङ्कलन गरेको थियो । चालु आवमा लक्ष्य रु आठ करोड ७० लाख रहेकामा घरजग्गा करको यो उच्च वृद्धिसँगै रु १५ करोड सङ्कलन हुने अनुमान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्