विराटनगर महानगरपालिकामा बढ्दैछ चुनावी सरगर्मी


२३ जेठ । मनसुन भित्रिनै लाग्दा पनि विराटनगरमा अत्यधिक गर्मी चढेको छ, त्यही गर्मीसँगै पछिल्लो पटक महानगरपालिका बनेको विराटनगरमा चुनावी सरगर्मी पनि विस्तारै बढ्न पुगेको छ । महानगरमा स्तरोन्नति भएसँगै प्रमुख राजनीतिक दलहरु उम्मेदवार चयन गर्ने र निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न क्रियाशील देखिएका छन् ।

एमाले, काँग्रेसजस्ता प्रमुख राजनीतिक दलले अहिलेसम्म उम्मेदवार टुंग्याइसकेका छैनन् । तर, माओवादी केन्द्रले भने मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेको टुंगो लगाइसकेको छ । सो महानगरमा माओवादी केन्द्रको खासै जनाधार नभएको हुँदा उम्मेदवार हुन चाहनेहरु त्यति नदेखिएका हुँदा चयनमा पनि खासै विवाद नदेखिएको बताइन्छ ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा धेरै तहमा विजयी हासिल गरेको एमालेले भने महानगरको मेयरका लागि तीन जनाको नाम जिल्ला कमिटीबाट सिफारिस गरेर प्रदेश कमिटीमा पठाइसकेको छ । जसमा मोरङ एमालेका अध्यक्ष विनोद ढकाल, पूर्वअध्यक्ष महेश रेग्मी र संगठन विभाग प्रमुख बाबुराम कार्कीको नाम सिफारिस गरिएको छ । यी नामहरु भने विराटनगरलाई महानगरपालिकामा स्तरोन्नति गर्नुभन्दा अगाडि नै सिफारिस गरिएको हो ।

सो महानगरको मेयरको सम्भावित उम्मेदवारमा पूर्वमन्त्री लालबाबु पण्डितको नाम पनि चर्चामा आएको छ । विराटनगरलाई महानगर बनाइएको खण्डमा पण्डितलाई मेयरमा उठाउने चर्चा पहिलेदेखि नै चलेको थियो र महानगर बनेपछि पण्डितको नाम चर्चामा आएको हो । ढकाल र रेग्मी विद्यार्थी पृष्ठभूमि हुँदै स्थानीय राजनीतिमा होमिएका हुन् भने कार्की पुराना नेतामा गनिन्छन् । यद्यपि, महानगरको मेयर र उपमेयरको टुंगो एमालेको स्थायी समितिले लगाउने भएको हुँदा चर्चामा रहेका यिनै चारमध्ये एक मेयरको उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ ।

यसैगरी, नेपाली काँग्रेसबाट भने मेयरमा अमृत अर्याल, डिला संग्रौला, भीम पराजुली, नागेश कोइराला र विश्वनाथ रिजालको नाम चर्चामा रहेको छ । चर्चामा रहेकामध्ये अर्याल, संग्रौला र पराजुलीको सम्भावना बढी रहेको बताइन्छ । अर्याल भने सांसद्समेत हुन् र अरुभन्दा उनी लोकप्रिय मानिने भएको हुँदा काँग्रेसले अर्याललाई नै टिकट दिने सम्भावना बढी रहेको बताइन्छ ।

राप्रपाले भने प्रल्हादप्रसाद साहलाई मेयरका रुपमा अघि सारिसकेको छ । उनी तत्कालीन राजा ज्ञानेन्द्रले नगरपालिकाको निर्वाचन गराउँदा विराटनगरको मेयर बनेका थिए । यसैगरी, संघीय समाजवादी फोरमले भने भूराज राई र जयराम यादवलाई उठाउने सम्भावना रहेको छ । राई ०५४ सालमा एमालेबाट सो नगरको उपमेयर भइसकेका हुन् भने यादव पूर्वसांसद हुन् ।

मोरङका सबै नगर र गाउँपालिकामा एमालेले उम्मेदवार तय गरिसके पनि विराटनगर महानगरपालिका, बेलबारी र सुन्दरदुलारी नगरपालिकाका उम्मेदवार टुंग्याउन भने बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्