विवादित निजामती कर्मचारी पनि पुरस्कृत


२२ भदौ । केही विवादित कर्मचारीहरुलाई समेत सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार दिने निर्णय गरेपछि सो पुरस्कार नै विवादमा परेको छ । सरकारले ३ जना सहसचिवसहित १० जना कर्मचारीलाई निजामती सेवा दिवस–२०७४ को अवसरमा सो पुरस्कार दिने निर्णय गरेको हो । विगतमा विभिन्न मन्त्रालयमा हुँदा कमिसन र आर्थिक लाभका पछि दौडिने कर्मचारीहरुलाई समेत पुरस्कृत गर्ने निर्णय गरिएपछि विवाद उत्पन्न भएको हो ।

विगतमा आपूर्ति मन्त्रालयमा सहसचिव हुँदा पेट्रोलियम डिलर्स एसोसियसनका पदाधिकारीहरुसँग आर्थिक फाइदा लिएर उनीहरुकै पक्षमा उभिने सहसचिव दीपक सुवेदीलाई १ लाख नगदसहित पुरस्कृत गर्ने निर्णय भएको छ । अहिले निर्वाचन आयोगको प्रशासनको सहसचिवमा कार्यरत रहे पनि आपूर्तिमा हुँदा सुवेदीलाई नेपाल आयल निगम हेर्ने जिम्मा दिइएको थियो । निगममा मन्त्रालयको तर्फबाट प्रतिनिधि रहेका सुवेदीले निगमका तत्कालीन सञ्चालक देवी बरालसँग मिलेर प्रशस्तै धनआर्जन गरेको बताइन्छ ।

आपूर्तिमा हुँदा सुवेदीले सञ्चालक बरालसँग मिलेर नेपाल पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष लीलेन्द्र प्रधानमार्फत् कमिसन बटुल्ने गरेको आरोप लाग्दै आएको छ । मन्त्रालयबाट निगमको प्रतिनिधि रहे पनि सुवेदीले पेट्रोलियम डिलर्सहरुको पक्षमा काम गर्नुका साथै निगमको अहितमा काम गर्ने गरेको बताइन्छ । सुवेदीले विभिन्न ठाउँका डिपो प्रमुख र क्षेत्रीय प्रमुखहरुसँग आर्थिक लाभ लिएको कुरा सार्वजनिक भएपछि कर्मचारीहरुले त्यसको व्यापक रुपमा विरोध जनाएका थिए ।

आपूर्तिबाट स्थानीय विकास मन्त्रालयमा सरुवा भएका सुवेदी पछि पुनः आपूर्तिमै आएका थिए । तर, दोस्रो पटक आपूर्तिमा आउँदा भने उनी धेरै समय बसेनन् । त्यसपछि रक्षामा सरुवा भएका सुवेदी अहिले निर्वाचन आयोगमा छन् । त्यस्तै, अर्थ मन्त्रालयमा हुँदा विवादमा परेका केवलप्रसाद भण्डारी पनि पुरस्कृत हुने सहसचिवहरुको सूचिमा छन् । अर्थ, महालेखा परीक्षकको कार्यालयमा समेत रहिसकेका भण्डारी कांग्रेस निकट मानिने भएको हुँदाउनलाई कांग्रेसले सचिव बनाउन लबिइङ गरिरहेको बताइन्छ । भण्डारीले पनि १ लाख राशीको उत्कृष्ट निजामती कर्मचारी पुरस्कार पाएका हुन् ।

पुरस्कृत हुनेमध्ये जीवनराज सेढाई भने अपांगता भएका उपसचिव हुन् । पोखरास्थित यातायात व्यवस्था कार्यालयमा रहँदा उनीमाथि केही मानिसहरुले गोली प्रहार गरेका थिए । गोली प्रहारका कारण उनी अशक्त छन् । यातायात व्यवसायीहरुले लाद्दै आएको सिन्डिकेटको विपक्षमा सेढाईले निर्णय गरेका हुँदा उनीमाथि गोली प्रहार गरिएको आशंका गरिएको छ । सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती सेवा पुरस्कार ३० जना कर्मचारीलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्