विवाद मिलाएर महाधिवेशन गर्न माग

७ साउन । नेपाल विद्यार्थी सङ्घका नेताले विद्यमान विवाद मिलाएर ११ औैँ महाधिवेशन गराउन माग गरेका छन् ।
नेविसङ्घका नेताले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेविसङ्घका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्लेले भागबण्डाका आधारमा महाधिवेशन गर्दा सङ्गठन कमजोर हुने भन्दै विवाद रहेका जिल्लालाई टुङ्ग्याएर महाधिवेशन गर्न आग्रह गरे ।
उनले विधिसम्मत महाधिवेशन गर्न नेविसङ्घ केन्द्रीय समिति र पार्टीले आफ्नो मागको सुनुवाई नभए आगामी आइतबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनशन बस्ने बताउनुभयो । उहाँले विवाद समस्या समाधान समिति बनेपनि अहिलेसम्म बैठक बस्न नसक्नु दुःखद् भएको बताए ।
नेविसङ्घका पूर्व केन्द्रीय सदस्य बलदेव तिमल्सेनाले भने , “विधि र प्रक्रियामा टेक्नुभन्दा खल्तीबाट झिकेर नेविसङ्घको महाधिवेशन प्रतिनिधि बनाइएको छ यो राम्रो कुरा होइन ।”
कार्यक्रममा विवाद समस्या समितिका सदस्य जीत शेरचन, नेविसङ्घ पूर्व केन्द्रीय सदस्य नेता कृष्णकुमारी बस्नेत, युवराज पाण्डे, गणेश सापकोटालगायतले ११ जिल्लामा दुईवटा अध्यक्ष भएको वर्तमान समयमा नेविसङ्घको महाधिवेशन हुन नसक्ने स्पष्ट पारे । रासस