विश्वकपमा आजको खेलः पोर्चुगल र स्पेनबीच कडा प्रतिस्पर्धा हुँदै


काठमाडौ, १ असार । बिहीबारबाट शुरु भएको विश्वकप फुटबलमा शुक्रबार पोर्चुगल र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजेपछि शुरु हुनेछ । विश्वभरका खेलप्रेमी स्पेन र पोर्चुगलको खेल हेर्न निक्कै उत्साही भएका छन । समूह ‘बी’मा रहेको स्पेन र पोर्चुगल दुवै युरोपेली टिम हुन् । यी दुबै राष्ट्र निकै नै बलियो प्रतिस्पर्धी तथा उपाधि दाबेदारका रुपमा हेरिएको छ ।स्पेन सन् २०१२ र २००८ को युरोकप च्याम्पियन हो भने पोर्चुगल अहिलेको युरोपेली विजेता हो ।
दुवै टिमले जित आफ्नो पक्षमा रहेको दावी गरेका छन् ।
तुलनात्क रुपमा पोर्चुगलको अवस्था केही कमजोर देखिन्छ । तर यो टिममा यो शताब्दीकै उत्कृष्ट खेलाडी क्रिष्टियानो रोनाल्डो हुनु ठूलो कुरा हो ।
पहिलो पटक रसियाले आयोजना गरेको २१ औं संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको अन्तर्गत दोस्रो दिन आजै अन्य दुई वटा खेल हुँदैछन् । पहिलो खेल नेपाली समय अनुसार अपरान्ह ५ः४५ बजे इजिप्ट र उरुग्वे आमने सामने हुनेछन् । त्यसैगरी दोस्रो खेल मोरक्को र इरानबीच नेपाली समय अनुसार ८ः४५ बजेबाट शुरु हुनेछ । त्यस्तै पोर्चुगल र स्पेनबीचको खेल राति ११ः ४५ बजेबाट शुरु हुनेछ ।
यसअघि उद्घाटन खेलमा आयोजक रसियाले शानदार शुरुवात ग¥यो । उसले साउदी अरेबियामाथि ५–० को जित हात पार्यो ।

प्रतिक्रिया दिनुहोस्