विश्वकै सर्वोच्व शिखरमा फोहोरको डंगुर !


काठमाडौ, १५ जेठ । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापन मुख्य चुनौती बनेको छ ।
सगरमाथा आरोहण समूहले नियमको पालना नगर्दा सगरमाथा आधार शिविरमाथि शिविर २ र ३ मा फोहोरको मात्रा अत्याधिक बढेको छ । यस वर्षको वसन्त ऋतुमा आरोहण गर्न गएकाले समेत नियमको पालना नगरेको पाइएको छ ।
वर्षेनी सयौंँको संख्यामा सगरमाथा आरोहणका लागि स्वदेशी र विदेशी सगरमाथा आधार शिविर पुग्छन् । यस वर्ष मात्रै चार सय बढीले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । विश्व कीर्तिीमानी कायम राख्नका लागि गरिने आरोहणका लागि बन्दोबस्तीका सामानसहित यहाँ आउने आरोही र उनका सहयोगीले फोहोर व्यवस्थापनमा ध्यान नदिँदा समस्या हुने गरेको सगरमाथा आरोही पासाङ्ङिमा शेर्पाले बताए ।
यही जेठ ७९मे २१० मा सगरमाथाको सफल आरोहण गर्नुभएका शेर्पाले भने, “क्याम्प १ र २ मा केही मात्रामा फोहोर छ तर ३ र ४ मा भने अत्याधिक बढी देखिन्छ ।”
दिनप्रतिदिन सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढ्दै गएको प्रति चिन्ता व्यक्त हुन थालेको छ । सम्बन्धित निकायले यसको व्यवस्थापनका लागि समयमा नै ध्यान दिनुपर्ने सगरमाथा आरोही लालबहादुर वाइवाको सुझाव छ । वाइवाले भने, “फाहोर व्यवस्थापनको केही पहल भए पनि यो पर्याप्त छैन, यसलाई सरकारले नै विशेष योजना बनाउन आवश्यक छ ।”
विभिन्न शिविरमा बस्नका लागि निर्माण गरिएको पालसमेत लथालिङ्ग छाड्ने गरिएको पाइएको छ । आरोहणमा गएकाहरुले आरोहण सकेर फर्कने क्रममा विभिन्न कारणले फोहोरको व्यवस्थापनमा ध्यान दिन नसकेको बताइन्छ ।
छ पटक सगरमाथा आरोहण सक्नुभएका सोताङका यति शेर्पाले विगत वर्षभन्दा यस वर्ष बढी नै फोहोरको मात्र बढेको बताए ।
सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापनका लागि नै सगरमाथा प्रदूषण नियन्त्रण समिति एपिसिसीले काम गरिरहेको छ । संस्थाको नियमअनुसार एक जना व्यक्ति बराबर आठ केजी फोहोर अनिवार्य संस्थाको कार्यालय नाम्चेमा ल्याएर बुझाउनुपर्छ । उक्त फोहोर छुट्याएर जल्नेलाई जलाउने र नजल्ने फोहोर काठमाडौ पठाउने गरिएको एपिसिसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताउनुभयो ।
आरोहीले सगरमाथा आरोहणमा जाँदा चार सय डलरसम्म धरौटी जम्मा गर्नुपर्ने प्रावधान छ । मापदण्डानुसार फोहोर फिर्ता नल्याएको प्रतिवेदन प्राप्त भएमा उक्त धरौटी जफत हुने पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्