वीरगन्जमा माधव नेपालले भने– ‘आन्तरिक मामिलामा छिमेकी देशको हस्तक्षेप अस्वीकार्य’


२८ साउन । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालको आन्तरिक मामिलामा छिमेकी देशले हस्तक्षेप नेपाललाई स्वीकार्य नहुने बताएका छन् । एमाले निकट लोकतान्त्रिक मधेसी सङ्गठन, पर्साले वीरगन्जमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता नेपालले दलहरूबीच रहेको मनमुटाव देशभित्रै समाधान गर्नुको सट्टा विदेशीलाई गुहार्दा देशकै बेइज्जती हुने पनि दाबी गरे ।

उनले जनताको हितमा काम गर्दा पार्टीको साख बलियो हुने र विदेशीलाई गुहार्दा देशको सम्मान घटनुको साथै पार्टीहरूप्रति जनतामा वितृष्णा हुने भएकाले विदेशी गुहार्ने परिपाटी अन्त्य हुनुपर्ने बताउनुभयो ।

एमाले पार्टीलाई मधेसविरोधी भएको प्रचार गरी जनतालाई गुमराहमा राख्ने प्रयास गरेको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरे । ‘जनताको अधिकारका लागि सङ्घर्ष गर्ने पार्टीले जनविरोधी काम गर्दैन,’ उनले भने ।

पोलिटब्युरो सदस्य एवम् लोकतान्त्रिक मधेसी सङ्गठनका अध्यक्ष रघुविर महासेठले मधेसी जनतासँग भएका विभेदलाई संविधान संशोधन गरी सम्बोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्