वीर अस्पताललाई जग्गा पाइएन !


जेठ २४ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा.डा. गणेश गुरुङलाई गत कात्तिक महिनाको एक दिन खबर आयो, ‘अर्थमन्त्रीले भेट्न खोज्नुभएको छ ।’ विष्णु पौडेल अर्थमन्त्री भएको धेरै भएको थिएन । उनी भेट्न पुगे । अर्थमन्त्रीले पौडेलले भने, ‘म वीर अस्पताललाई चक्रपथ बाहिर लैजान चाहन्छु । सुविधासम्पन्न रुपमा एक हजार शैय्याको अस्पताल बनाउन एकहजार रोपनी जग्गा खोज्नूस्, बाँकी रकमको चिन्ता नगर्नूस् ।’

प्रतिष्ठानको उपकुलपति भएपछि प्रा.डा. गुरुङको दिमाग पनि केही योजना थिए । अर्थमन्त्रीको भनाइले उनी उत्साहित भए र दुइटा काम एकसाथ अघि बढाए । पहिलो, यसअघि नै बनेको वीर अस्पताल विकासको गुरुयोजना परिमार्जन र अर्को एक हजार रोपनी जग्गा खोजी । यसपालिको बजेट वक्तव्यमा पाँच सय रोपनी जग्गामा वीर अस्पताल निर्माण गर्ने घोषणा भइसकेको छ । तर, उपकुलपति गुरुङका अगाडि पहिलो चुनौती छः जग्गा प्राप्ति ।

१ सय २७ वर्ष पहिला वीर शम्शेरले राजधानीको मुटुमा स्थापना गरेको यो अस्तपालमा जति विरामीको भीड सम्भवतः अरु कुनै अस्पतालमा पनि छैन । गरिब नागरिकले सस्तोमा उपचार गर्ने अस्पताल जीर्ण छ । पुराना भवनका कारण पूरै अव्यवस्थित छ र सद्दे मानिस पनि अस्पताल पुगेर फर्किंदा विरामी होला भन्ने खतरा रहन्छ । त्यही भएर गत वर्ष सञ्चालनमा आएको ट्रमा सेन्टरबाहेक बाँकी सबै भवन भत्काएर नयाँ बनाउने योजना छ ।

विश्वविद्यालय, छात्राबास, नर्सिङ क्याम्पस, डाक्टरहरुको फ्यामिली क्वाटरलगायतका सबै संरचना चक्रपथ बाहिर बनाउने र अहिले अस्पताल भएको ठाउँमा वीर अस्पतालको सिटी सेन्टरका रुपमा अस्पताल बनाउने गुरुयोजना तयार भएको छ । उपकुलपति गुरुङ भन्छन्, ‘त्यसो भएमा भीभीआइपीलाई पनि सुविधा दिन सक्छौँ, अनि गरिब जनताले पनि सहज रुपमा उच्चस्तरीय सेवा पाउँछन् ।’
अहिले नर्सिङ क्याम्पस र डाक्टरहरुको फ्यामिली क्वाटर भएको ब्लकलाई भत्काएर नयाँ भवन बनाउन गत वर्ष सात करोड रुपियाँ बिनियोजन भएको थियो । तर, काम सुरु भएन ।

कारण के परेछ भने त्यही ब्लकको बीचको एउटा ७५ वर्ष पुरानो राणकालीन भवन छ । नर्सिङ क्याम्पसको प्रशासन बसिरहेको उक्त भवन भूकम्पले चर्काएपछि खाली छ । कुनै कर्मचारीले ‘यो त पुरातात्विक भवन हो, पुरातत्व विभागको अनुमति लिनुपर्छ’ भनेपछि नयाँ भवन बनाउने प्रक्रिया ढिला हुन पुगेको छ ।

पुरातत्व विभागले पुरानै शैलीमा घर बनाउनुपर्छ भन्ने अड्डी लिएपछि दुई तला भूमिगत सहित नौ तले आधुनिक भवन बनाउने योजना यस वर्ष कार्यान्वयन हुन सकेन । ‘अब त्यो भवनलाई त्यही आकृतिमा बनाउँछौँ, बाँकी हाम्रो योजना अनुसार प्रक्रिया अघि बढ्छ’, उपकुलपति गुरुङ भन्छन्, ‘यस वर्ष प्रक्रियागत झन्झटका कारण सकिएन, आगामी वर्ष सुरु गरेर साढे दुई वर्षभित्र पूरा गर्छौं ।’
त्यसपछि बाँकी दुई भवन पनि भत्काएर नयाँ बनाउने योजना छ ।

जग्गा खोज्दाखोज्दै छ महिना
अर्थमन्त्री पौडेलले आफ्नो मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, बैदेशिक सहयोग हेर्ने सहसचिव बैकुण्ठ उअर्याल, बजेट महाशाखा प्रमुख रामशरण पुडासैनीलगायतलाई राखेर प्राथमिकतासाथ वीर अस्तापल बनाउने निर्णय गरेर कार्यान्वयनको निर्देशन दिएपछि पहिलो काम जग्गा खोज्नु हुने नै भयो ।

त्यसका लागि छ महिना बितिसक्दा पनि उपलब्धि हासिल भएको छैन । अर्थमन्त्री पौडेल चाहन्थे, बजेट भाषण गर्दा ठाउँ नै तोकेर बीर अस्पताल बनाउने घोषणा गर्न सकियोस् । ‘त्यसका लागि मैले सक्दो कोसिस गरेँ’, उपकुलपति गुरुङ भन्छन्, ‘तर सरकारी अस्पताल बनाउनका लागि सरकारी जग्गा खोज्न पनि सोचे भन्दा निकै कठिन भइरहेको छ ।’

हजार रोपनी खाली जग्गा उपत्यकामा पाउन असम्भव जस्तै भएपछि कम्तीमा पाँच सय रोपनीमा वीरका अधिकारीहरुको ध्यान केन्द्रित भएको छ । ‘अहिले पाँच सय रोपनी जग्गा लिने र पछि विस्तार गर्न सकिने क्षेत्रलाई ध्यान राखिने कुरा भएको छ’, उपकुलपति गुरुङको भनाइ छ, ‘त्यस आधारमा सात ठाउँमा जग्गा हेर्दा पनि प्राप्त गर्न सकिएको छैन ।’

वीर अस्पतालका लागि पहिलो नजर चोभारस्थित बन्द रहेको हिमाल सिमेन्ट कारखानाको जग्गामा परेको थियो । चक्रपथबाटको दुरी, उपयोग नभइरहेको जग्गा र सम्भावित विकासका दृष्टिले पनि त्यो ठाउँ उपयुक्त थियो । तर, खोज्दै जाँदा थाहा भयो, बर्षौंदेखि उपयोगविहीन भएर बसेको त्यो जग्गामा सुख्खा बन्दरगाह बनाउने र माथिल्लिो भागमा पर्यटन प्रदर्शनीस्थल बनाउने कागजी योजना तयार भएको रहेछ ।

दोस्रो नम्बरमा ललितपुरको धोवीघाट तल्तिरको मलपोखरीमा अस्पताल बनाउन सकिन्छ कि भनेर सुरु गरिएको प्रयास पनि त्यस्तै कागजी योजनाले सफल हुन दिएन । ०३३ सालमा अधिग्रहण गरेर हालसम्म खाली राखिएको उक्त जग्गामा ढल निर्माणका लागि योजना तयार पारिएको रहेछ । काठमाडौं उपत्यकाभरिको ढल त्यहीँ लिएर प्रशोधन गर्ने र खोलामा मिसाउनले गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, ढल विभाग आदिले योजना बनाएका रहेछन् ।

तेस्रो प्रयास खुमलटारस्थित कृषि अनुसन्धान परिषद् (नार्क) को जग्गा लिन सकिन्छ कि भन्ने थियो । त्यो पनि ठूलो बैज्ञानिक परीक्षणको योजना बनाउँछौँ भन्ने जवाफका कारण पूरा हुन सकेन ।

चौथो, बानेश्वरस्थित ट्रली बस र हेभी इक्विपमेन्ट कार्यालयको जग्गा एकीकृत बनाएर अस्पताल बनाउन सकिन्छ कि भनेर पनि कोसिस भएको रहेछ । त्यहाँ चाहिँ जग्गा नै कम र विस्तार गर्न सकिने सम्भावना पनि नभएका कारण प्रतिष्ठान आफैँ इच्छुक भएन ।
पाँचौँ प्रयासमा चाहिँ उपयुक्त जग्गा भेटिएको थियो, गोठाटारमा ।

०४५ सालमा सरकारले निर्णय गरेर त्यो छ सय रोपनी जमिन पशुपति गुठीलाई दिएको रहेछ । काठमाडौँको पूर्वी भागको विकासका लागि पनि वीर अस्तपाल त्यहाँ पुग्दा ठूलै सहयोग हुने भएकाले स्थानीय पनि सहयोग गर्न इच्छुक थिए । तर, पशुपति क्षेत्र विकास कोषले जवाफ दियो, त्यहाँ गाई पाल्ने र बृद्धाश्रम बनाउने गुरुयोजना तयार भएको छ ।

गाई पाल्नका लागि त अलि टाढाको ठाउँ भए पनि फरक नपर्नुपर्ने हो । धार्मिकभन्दा पनि ठूलो मानवीय सेवाका लागि त्यो जग्गा उपभोग गर्न सहयोगका लागि उपकुलपति गुरुङले कोषका सदस्यसचिव डा. गोविन्द टण्डनसँग पटकपटक कुरा गरिसकेका छन् । ‘कुरा नकारात्मक छैन’, गुरुङ भन्छन्, ‘सरकारी निकायको जग्गा सरकारी निकायलाई नै प्रयोग गर्न दिनमा पनि यति झन्झट होला भन्ने लागेको थिए ।’ कोषमा प्रधानमन्त्री संरक्षक छन् भने संस्कृतिमन्त्री अध्यक्ष ।

तर पनि, एउटा महत्वपूर्ण कामका लागि निर्णय हुन सकेको छैन ।
जग्गा खोज्ने प्रयास यतिमै रोकिएको छैन । सानो ठिमीस्थित हवाई विभागको १ सय ८६ र टक्सार विभाग ४४ रोपनी उपयोग नभइरहेको जमिनलाई आधार बनाएर पाँच सय रोपनी पु¥याउन सकिने सम्भावना पनि फेला परेको छ । त्यहीँ नै शिक्षा मन्त्रालयको मातहतमा पनि खाली जग्गा छ । शिक्षा मन्त्रालयको १ सय ८७ रोपनी र सानो ठिमी क्याम्पसको १ सय ३२ रोपनी जमिन खाली छ । त्यसलाई आधार बनाएर जग्गा खोज्न सकिने सम्भावना पनि छ । उपकुलपति गुरुङ भन्छन्, ‘तर यी सबै कामका लागि सरकारी निकायहरुबीच समन्वय नभएसम्म काम अघि बढ्दैन ।’

बजेटमा अस्पताल बनाउने घोषणा भइसकेको छ, आवश्यक बजेट पनि व्यवस्था भइसकेको छ । तर, जग्गा अझै भेटिएको छैन । यस्तो अवस्थामा अस्पताल निर्माणको काम एक वर्षभित्रै सुरु होला त ? प्रश्न भूइँमा खस्न नपाउँदै उपकुलपति प्रा.डा. गुरुङ भन्छन्, ‘सकिन्छ र गर्नैपर्छ । राणाहरुले १ सय २७ वर्षअघि गरे जति काम हामीले अहिले पनि गर्न सक्दैनौँ भने भोलिको पुस्ताले हामीलाई के भन्ला ?’

प्रतिक्रिया दिनुहोस्