वृक्षरोपण अब अभियानकै रूपमा


काठमाडौँ, १३ साउन । हरियाली प्रवद्र्धनको उद्देश्यले सरकारले घोषणा गरेको वृक्षरोपण वर्षलाई सफल बनाउन देशभर वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा सञ्चालन गरिएको छ ।
राष्ट्रिय वृक्षरोपण दिवस पारेर असार १४ गते घोषणा गरिएको सो अभियानअन्तर्गत देशभर पाँच करोड बिरुवा रोपिँदैछ । यसबाट हरियाली, पर्यावरणको संवद्र्धन, वनजङ्गलको विनाशले निम्तिने विनाशलाई रोक्न मद्दत मिल्नेछ भने विकास निर्माण, सहरीकरणलगायत विविध कारणले नष्ट भएको वन जङ्गल प्रवद्र्धनमा पनि अभियानले टेवा पु¥याउनेछ ।
वृक्षरोपण दिवस–२०७६ मा प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वर तीनकुनेबाट फलफूलको बिरुवा रोपेर सुरु गरेको वृक्षरोपण वर्षलाई सफल बनाउन मुलुकभर वृक्षरोपण अभियान चलिरहेको छ । कोटेरश्वरदेखि कलङ्कीसम्मका सडक किनारामा सोही दिन दुई हजार सात सय बिरुवा रोपिएको थियो । यसैगरी, चक्रपथ हरियाली बनाउन तीन सय बिरुवा रोप्ने कार्यक्रम रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सोही दिन नेपाल प्रहरीले ४० हजार ८३० वटा बिरुवा रोपेको थियो ।
आर्थिक वर्ष २०७६÷७७ मा वृक्षरोपण अभियानलाई व्यापक बनाउन वन तथा वातावरण मन्त्रालय र कृषि मन्त्रालयको सहकार्यमा अभियान अगाडि बढिरहेको छ । निजी क्षेत्रमा सञ्चालित निजी नर्सरी र स्थानीय तहले पनि बिरुवा उत्पादन र वृक्षरोपणको कार्यक्रमलाई विभिन्न दिवस, अवसर पारेर व्यापकता दिइरहेका छन् । वन तथा वन्यजन्तु संरक्षण महाशाखाका उप–महानिर्देशक डा राजेन्द्र केसीले बिरुवा सर्नका लागि पानी आवश्यक पर्ने भएकाले वर्षात् अर्थात् मनसुनकै बेला वृक्षरोपणको कार्यक्रम सञ्चालन गरिँदै आएको हो, पाँच करोड बिरुवा यस वर्ष असारदेखि अर्को असार महिनासम्ममा रोप्ने लक्ष्य रहेको बताए ।
उहाँले फलफूललगायत बोटबिरुवा रोप्ने कामले देशको समृद्धिको नारा साकार पार्न मद्दत मिल्ने भएकाले हरेक व्यक्ति, सङ्घ संस्थालगायत सबैले सहभागिता जनाउन पनि आह्वान गरे । देशभरका १५० भन्दा बढी वन नर्सरी, निजी नर्सरी र सामुदायिक वन, सङ्घ प्रदेश र स्थानीय तहले पनि उत्साहपूर्वक वृक्षरोपणको अभियानलाई साथ दिइरहेको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा सिन्धु ढुङ्गानाले जानकारी दिए । उनले वृक्षरोपण अभियानलाई सफल बनाउन विनियोजन गरिएको १५ करोड रुपियाँ वन तथा भूसंरक्षण विभागले सामुदायिक वन उपभोक्ता समूहसम्म परिचालनका लागि कार्ययोजना पनि बनाइरहेको जानकारी दिए ।
पाँच करोड बिरुवा सुन्दा मात्र धेरै लाग्छ तर अभियानका रूपमा सञ्चालन गर्दा यो धेरै होइन, वार्षिक करोडकै हाराहारीमा वृक्षरोपण हरेक वर्ष नै गरिन्छ । यस वर्ष प्रदेश सरकारले पनि बिरुवा उत्पादनका लागि बजेट नै छुट्याएको छ । रौतहट जिल्लामा मात्र १३ लाख बिरुवा उत्पादन गरिएका छन् । कञ्चनपुर जिल्लामा आठ लाख बिरुवा वृक्षरोपणका लागि तयार भएको उनले बताए । उनका अनुसार स्थानीय तहमा भएका खाली जमिन तथा खोला किनार, सडक किनारमा समेत वन बनाउने लक्ष्यले सबै जिल्लामा वृक्षरोपणका लागि बिरुवा उत्पादन भइरहेको छ । यस अभियानका लागि बिरुवाको कमी हुन्न ।
मन्त्रालयले अग्रसरता लिएको मात्र हो, सबै तह, निकाय, जिल्ला, संस्था व्यक्तिसमेतलाई वन जोगाउन उत्प्रेरित गर्न सञ्चालित अभियान सफल हुने विश्वास व्यक्त गर्छन् प्रवक्ता ढुङ्गाना । सरकारले घोषणा गरेको कार्यक्रममा मन्त्रालय वा सरकारले मात्र बिरुवा रोप्ने भन्ने होइन कि सबैलाई यस अभियानमा हातेमालो गरौँ भन्ने हो, उनले भने ।
निजी क्षेत्रको नर्सरीले उत्पादन गरेका ठूला फलफूलका बिरुवाको मूल्य साठी रुपियाँदेखि एक हजार रुपियाँसम्म मूल्यका हुन्छन् । त्यसलाई भने सरकारले आवश्यकताको हिसाबमा खरिद गरेर वृक्षरोपण गर्दै आएको जानकारी पनि प्रवक्ता ढुङ्गानाले दिए । साथै भदौ महिनाको अन्तिमसम्ममा यस वर्ष गरिएका वृक्षरोपणको यकिन तथ्याङ्क आउने पनि उनले बताए ।
अभियानमा क्रिसमस ट्री, श्रीखण्ड, कपुर, तेजपत्ता, निबुवा, नासपती, अम्बा, लिची, आँप, बकाइनो, साल, टाँकी, गोल्डमोहर, कल्की, काइँयो, टुडी, सिमल रोपिनेछन् ।
त्यसैगरी आँप, लिची, कदम्ब, कल्की, अमला, बरपीपल, बेल, राजवृक्ष, तेजपात, गिनको बाइला, इमली, बडहर, निम, जामुन, अमलतास, काभ्रो र समिलगायत विभिन्न जातका बिरुवा रोपिने मन्त्रालयले जनाएको छ ।
विश्व वातावरण दिवस, विश्व जनसङ्ख्या दिवसको अवसर पारेर सर्वोच्च अदालत परिसर, सिहंदबारलगायत क्षेत्रमा कागती र रूद्राक्षका बिरुवा रोप्ने र घर–घरमै रोप्नका लागि पनि कागतीको बिरुवा प्रदान गरेर हरियाली प्रवद्र्धनका लागि सहयोग गर्दै आएको छ ।
हाल मुलुकको कुल भूभागको ४४.७४ प्रतिशत अर्थात् दुई लाख ३० हजार ५३७ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । (गोरखापत्र दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्