वैकल्पिक विमानस्थलको लागि स्थान खोज्न अध्ययन समिति गठन


काठमाडौं, १९ बैशाख । सरकारले काठमाडौं उपत्यका नजिकै वैकल्पिक विमानस्थल निर्माण गर्न उपयुक्त स्थानको छनौटका लागि अध्यन समिति गठन गरेको छ । नेपालको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हुने हवाई चापलाई न्युनिकरण गर्न सरकारले बैकल्पिक विमानस्थल निर्माण गरी आन्तरिक उडानहरु सञ्चालन गर्न स्थान छनौटको लागि ६ सदस्यि समिति गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा इन्जिनियर कमलकुमार केसी संयोजक, सदस्यहरुमा नेपाल नागरिक उड्ययन प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोया र बाबुराम पौड्याल, उपनिर्देशकहरु सुवर्ण उपाध्याय र सीताराम भण्डारी रहेका छन् । सदस्य सचिवमा प्राधिकरणकै नलविक्रम थापा रहेका छन् ।

मंगलबार काभ्रे बनेपा नगरपालिकाको नागीडाँडा, धुलीखेल नगरपालिकाको चिसापानी ठूलीचौर र देवीस्थान ठूलीचौरको मन्त्री अधिकारीले स्थलगत भ्रमण गरेपछि बुधबार विमानस्थल निर्माणका लागि उपयुक्त विकल्पसहितको सुझाव दिन समिति गठन गरेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । टोलीले १५ दिन भित्र काभ्रेको बिभिन्न स्थानको अध्ययन गरी उपयुक्त स्थानको छनौट गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । अध्ययन टोलीको प्रतिवेदन आईसकेपछि आन्तरिक उडानको लागि सरकारले विमानस्थल बनाउने काम अगाडी बढाउने छ । मंगलबार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेको नागीडाँडा, ठूलीचौर र देविस्थान ठूलीचौरको अध्ययन गरेका थिए । सरकारले हेरेको उक्त ३ स्थान तथा आवश्यक परेमा अन्य ठाउँको समेत अध्ययन गर्ने गरि प्राविधिक अध्ययन सुझाव समुह गठन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने मन्त्री अधिकारीले बताएका थिए । मन्त्री अधिकारीले आफ्नो सय दिने कार्य सम्पादनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक हवाई उडानलाई स्थान्तरण गर्न बैकल्पिक विमानस्थल निर्माणको स्थान निश्चित गरी कार्य अघि बढाउने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्