वैद्य र प्रचण्ड छाडेर एमाले प्रवेश गरेका कार्यकर्तालाई ओलीले भने– ‘तराईमा एक झलक देखाउँछौँ’


१५ फागुन । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा एमाले मुख्यालयबाट मधेसी मोर्चाका नेतालाई तराई–मधेसमा एक झलक देखाइ दिने चेतावनी दिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई स्वागत गर्दै ओलीले भने– ‘अहिले तराई–मधेसमा एमालेको पकड छैन भनेर हल्ला गरिरहेका छन् । उनीहरुलाई हामी मेची–महाकाली अभियानका क्रममा एक झलक देखाइदिन्छौँ ।’

उनले अभियानका क्रममा १५ दिन तराई–मधेसमा मानवसागर उर्लिने दाबी पनि गरे । ओलीले अबको स्थानीय निर्वाचनमा एमालेले जित्ने र अरुले सिक्ने पनि बताए । नेकपा माओवादी केन्द्र र वैद्य माओवादीका युवा कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै ओलीले भने– ‘वैशाख ३१ गतेको स्थानीय तहको चुनाव पनि एमालेले जित्छ । अरु पार्टीले सिक्छन् ।’

उनले यही फागुन १८ मा हुने स्ववियु निर्वाचनमा पनि एमाले निकटको भ्रातृ संगठन वहुमतसहित पहिलो हुने भन्दै ओलीले अनेरास्ववियुले जित्ने निश्चित भएकाले नेवि संघ र क्रान्तिकारीले वखेडा झिकेको आरोप लगाए । स्थानीय तहको निर्वाचन पनि सरकारले रुची र खुशीले घोषणा नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्