वामदेवको खुलासाः वैशाखभित्रै एमालेको ४७ औं, माओवादीको १८ औं पटक एकता


काठमाडौं, १५ वैशाख । एमाले उपाध्यक्ष वामदेव गौतमले वैशाखभित्रै माओवादी केन्द्रसँग ४७ औं पटक एकता हुन गइरहेको खुलासा गरेका छन् । एमाले–माओवादीबीचको एकताको सूत्रधार मानिने नेता गौतमले शनिबार आयोजित एक कार्यक्रममा त्यस्तो खुलासा गरेका हुन् ।
‘एमालेले अहिलेसम्म ४६ ओटा साना–ठूला पार्टीसँग एकता सम्पन्न गरिसकेको छ’, वैशाखभित्र अब माओवादीसँग ४७ औं एकता हुँदैछ’, गोदावरीमा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको बनभोज कार्यक्रममा एकताको हिसाब–किताब सुनाउँदै गौतमले भने,‘उहाँहरु(माओवादी केन्द्र)ले १७ ओटा पार्टीसँग एकता गरिसक्नुभएको रहेछ, त्यसैले उहाँहरुका लागि १८ औं एकता हुनेछ ।’

राजनीतिक, सैद्दान्तिक र सांगठनिक विषय मिलिसकेकाले केही प्राविधिक पक्ष मिल्ने बितिक्कै वैशाखभित्रै दुई पार्टीबीच एकता घोषणासभा भइसक्ने गौतमले ठोकुवा गरे । ‘सबै विषय मिलिसकेको छ, केही प्राविधिक पक्ष मात्र मिल्न बाँकी हो’, गौतमले भने,‘केन्द्रीय कमिटीमा दुई पार्टीबाट कसको संख्यात्मक हिस्सेदारी कति भन्ने कुनै ठूलो कुरा होइन, योग्यताका आधारमा केन्द्रीय कमिटी बन्ने भएकाले २०÷३० संख्या तलमाथि हुनपनि सक्छ ।’
सोही कार्यक्रममा माओवादी केन्द्रका नेता अग्नी सापकोटाले आफू पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नियमित सम्पर्कमा रहेकाले केही दिनभित्रै पार्टी एकता सम्पन्न हुने निश्चित भइसकेको ठोकुवा गरे । कार्यक्रममा एमाले सिन्धुली सम्पर्क मञ्चका अध्यक्ष अम्मर थापामगरलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्