वैशाख मसान्तबाट आन्दोलन गर्ने उच्च मावि शिक्षकको चेतावनी


काठमाडौं । साविकको उच्च माविमा कार्यरत उच्च माविका शिक्षकहरुलेदरबन्दीको व्यबस्था माग गर्दै माग पूरा नभए वैशाख मसान्तबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् । उच्च मावि शिक्षक युनियनले सोमबार शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै त्यस्तो चेतावनी दिएको हो ।
उच्च मावि शिक्षा ऐन आएको २८ वर्ष पूरा हुँदा पनि अहिलेसम्म सरकारले आवश्यक शिक्षक दरबन्दी व्यबस्थापन गर्न नसक्दा साविकका प्लस टुमा अन्योल बढेको भन्दै युनियनले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । शिक्षा ऐन आठौं संशोधनले साविकको कक्षा ११ र १२ माध्यमिक तहमा समायोजन गरी शिक्षाका संरचनाहरुकोसमेत मिलान प्रक्रिया अघि बढिसके पनि शिक्षकहरुका बारेमा ऐन र नियमावली मौन रहेको उनीहरुको आरोप छ । कक्षा ११ र १२ मा पढाउने देशभर २० हजारभन्दा बढि शिक्षक छन् ।
उनीहरुले साविकको उच्च मावि तहमा अहिले कार्यरत शिक्षकलाई मावि तहमा समायोजन हुनेगरी दरबन्दीको व्यवस्था गर्न, अनुदान कोटामा कार्यरत ४ हजार शिक्षकलाई दरबन्दीमा परिणत गर्न, अस्थायी लाईसेन्स प्राप्त शिक्षकको लाईसेन्सलाई स्थायीमा परिणत गर्न, विद्यालयले दिएको नियुक्तिपत्रका आधारमा सेवाअवधिको गणना गर्न, ११ र १२ कक्षाको पाठ्यक्रम निर्माणमा सहभागी गराउनलगायतका माग गरेका छन् ।
चैत मसान्तभित्र केन्द्र, प्रदेश र स्थानीयसहित तीनओटै तहको सरकारलाई मागपत्र बुझाइने जानकारी दिँदै युनियनका महासचिव प्रलादराज गौतमले एक महिनाभित्र पूरा नभए देशभरका साविकका उच्च माविमा आन्दोलन चर्काइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्