वैशाख मसान्तभित्रसम्म स्थानीय तहको निर्वाचन सम्पन्न गर्न विकास समितिको निर्देशन


१४ पुस । प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा माओवादी केन्द्रका शीर्ष नेतृत्वबीच स्थानीय तहको निर्वाचन गर्नेबारेमा सकारात्मक छलफल भएको भोलिपल्टै संसदको विकास समितिले पनि तत्काल निर्वाचन मिति घोषणा गर्न सरकारलाई निर्देशन दिएको छ ।

स्थानीय विकास मन्त्री, निर्वाचन आयोगका पदाधिकारी र स्थानीय तह पुनर्संरचना आयोगका पदाधिकारीसँगको छलफलमा सो समितिले निर्वाचन मिति घोषणा गर्न सरकारलाई निर्देशन दिएको हो । वैशाख मसान्तभित्रसम्म स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थाल्न समितिले निर्देशन दिएको हो ।

समितिका सभापती रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहको निर्वाचन गर्ने कार्यलाई केन्द्रविन्दुमा राखेर राजनीतिक सहमतिका साथ आपसी सहयोगसहित सक्रिय रहन व्यवस्थापिका संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई आग्रह गरेको हो ।

बैठकले निर्वाचन आयोगलाई पूर्णता दिन र स्रोत र साधनको अभाव हुन नदिन समेत सरकारलाई निर्देशन दिएको अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्