वैशाख ९ मा नयाँ सन्देश दिँदै एमाले–माओवादी


काठमाडौँ, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी स्थापनाका दिन दुई ठूला वामपन्थी दल एमाले र माओवादी केन्द्रले छिट्टै एकता घोषणासभा हुन लागिरहेको नयाँ सन्देश दिने भएका छन् । स्थापना दिवशका अवसरमा आईतबार राष्ट्रियसभा गृहमा कम्युनिष्ट पार्टीका शीर्ष नेताले आफूहरु चाँडै एकीकृत हुने ठोस् सन्देश दिन लागेका हुन् ।

सरकारको नेतृत्व गरिरहेको एमाले र माओवादी केन्द्र सकेसम्म वैशाख ९ गते नै एकता गर्न करीब सहमत भए पनि केही विषय टुंगो लगाउन बाँकी रहेको भन्दै औपचारिक एकता घोषणा नगरी संयुक्त कार्यक्रमबाट उक्त सन्देश दिन जुटेका हुन् । पार्टी एकता संयोजन समितिको आयोजनामा राष्ट्रियसभा गृहमा मध्यान्ह १२ बजे हुने कार्यक्रममा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।
“एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो ।” यो सन्देश दुबै अध्यक्षले सो सभामा दिनुहुनेछ ।” एमाले केन्द्रीय कार्यालयका सचिव श्रेष्ठले भने ।
गत असोज १७ मा एकीकृत कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुबै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्