व्यवसायीक कृषिमा लाग्ने किसानलाई खुसीको खबर, तामाकोशी गाउँपालिकाले दिने भयो अनुदान


काठमाडौ, ७ असोज । तामाकोशी गाउँपालिकाले किसानका लागि दुहुना गाई भैँसीमा अनुदान दिने व्यवस्था गरेको छ । गाउँपालिकाले कम्तीमा ६० हजार पर्ने उन्नत जातको गाई र भैँसी कम्तीमा दुईवटा सम्म पाल्ने किसानलाई २० हजार अनुदान दिने व्यवस्था गरेको हो । त्यसैगरि भेडा बाख्रा १० वटा भन्दा बढी पाल्नेलाई ३ हजार, माउ बङ्गुर कम्तिमा २ वटा पाल्नेलाई ३ हजार, दस घार भन्दा माथि माहुरि पालन गर्नेलाई प्रतिघार १ हजार ५०० अनुदान उपलब्ध गराइने निर्णय भएको गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले जानकारी दिए ।

त्यस्तैगरि कम्तिमा ४० लोकल माउ कुखुरा भाले र पोथि पाल्नेलाई १० हजार, तरकारी या मसला बालि प्रति रोपनि १० हजार, फलफूल ३ रोपनि भन्दा माथि ३० हजार, माछापालन पोखरी निर्माण (लगानी ६० हजार माथिलाई) २० हजार, दुग्ध संकलन केन्द्रमा बेच्ने दुधमा प्रतिलिटर १ रुपैयाँ, विभिन्न पशुपालनको लागि गोठसुधार कार्यक्रम र उत्पादित कृषि उपज संकलन, भण्डारण र व्यवस्थापनको उचित व्यवस्था समेत गरिएको छ ।

यसैबीच तामाकोशीगाउँपालिकाभित्र ३ पुस्तादेखि सुकुम्बासी भएको प्रमाणित भएमा १ लाख ५० हजार बराबरको घडेरी किनिदिने गाउँपालिकाले निर्णय गरेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्