व्यापारीले आफूलाई चाहिएजति सुनचाँदी आयात गर्न पाउने यस्तो छ नयाँ नियम


काठमाडौ, १८ असोज । राष्ट्र बैङ्कको स्वीकृति लिएर व्यापारीले आफूलाई चाहिएजति सुनचाँदी आयात गर्न पाउने भएका छन् । यसअघि वाणिज्य बैङ्कले मात्र विदेशबाट सुन ल्याउन पाउने नीति भए पनि अब राष्ट्र बैङ्कको स्वीकृति लिएर चाहे जति सुन विदेशबाट ल्याउन पाइने भएको हो ।
‘सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी बिक्रीसम्बन्धी कार्यविधि २०७५’ सार्वजनिक गर्दै केन्द्रीय बैङ्कले स्वदेश तथा विदेशबाट सुनचाँदी ल्याउन बाटो खोलिदिएको हो । तर, सुनचाँदी भित्र्याउनका लागि राष्ट्र बैङ्कको आवश्यक प्रक्रिया पुर्याउनु पर्नेछ ।

सुनचाँदीको खरिद मूल्य निर्धारण गर्दा आस्से परीक्षणबाट कायम हुन आएको गुणस्तरको आधारमा गलान गरेको दिनको अन्तर्राष्ट्रिय बजार मूल्यले हुन आउने रकममा विनियमावलीमा तोकिए बमोजिमको रकम थप गरी निर्धारण गर्नु पर्नेछ ।

साथै राष्ट्र बैङ्कले ल्याएको नयाँ विनियमावली अनुसार राष्ट्रिय विभुति, राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका विषेश दिन, वर्ष, उपलब्धिी, कार्यक्रम वा अवसरसँग सम्बन्धित विषयवस्तु भएको चाँदीको सिक्का पनि बेच्न पाइने छ ।

सुनचाँदीको मूल्य निर्धारण गर्दा नेपाल सुनचाँदी व्यवसायी महासङ्घद्वारा प्रकाशित सुनको स्थानीय बजार मूल्य र विदेशी विनिमय व्यवस्थापन विभागबाट उपलब्ध हुने भारतीय बजारको अघिल्लो कारोबार दिनको अन्तिम मूल्य बीचको मूल्य गणना गरिने छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी यस्तो कार्यविधि बनाइएको हो।

प्रतिक्रिया दिनुहोस्