शताब्दी इतिहास बोकेको बीर अस्पताल आजदेखि सफा बन्दै


काठमाडौ, २३ वैशाख । शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पतालमा आजदेखि सफाइ अभियान चलेको छ ।
जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । राति फोहोरले भरिएका ती शौचालयबाट बाहिरसम्म फोहोर बगिरहने हुँदा गन्हाएर हिँड्नै नसकिने अवस्था छ । हरेक दिन एक ट्रकभन्दा बढी फोहर अस्पतालबाट निस्कन्छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफार्इ युक्त बनाउन जेठो अस्पतालबाटै एकमहीने अभियान शुरुआत गर्दै भनिन,‘‘सबै सरकारी अस्पताल आफ्नै सम्पत्ति हो भन्ने सोचेर अभियानमा लागौंँ, शुरु हामीबाटै गर्ने हो, अबको एक महिनामा साँच्चै महसुस गर्नेछौँ ।’’

एक सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको उनको भनार्इ छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा डा गणेशबहादुर गुरुङले अस्पताल राजधानीको मुटुमै भएकाले हरेक दिन ठूलो संख्याको मानिसको आवागमन हुने भएकाले सफाइमा चुनौती भए पनि सफा गर्ने लक्ष्य पूरा गरिने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्