शशांक खतरामुक्त, भेन्टिलेटर बाहिर झिकेपछि परिवारमा खुशी छायो


२३ असार । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला खतरामुक्त भएका छन् । उपचारमा संलग्न चिकित्सकहरुले महामन्त्री कोइरालाको रक्तचाप,अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार हुँदै गएको बताएका थिए । स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउन अस्पतालमा आयोजित पत्रकारसम्मेलनमा पनि डा. लव जोशीले महामन्त्री कोइरालाले आँखा खोल्ने मान्छे चिन्ने र टाउको हल्लाउने गरेको भन्दै उहाँको अवस्था खतरामुक्त रहेको बताएका थिए ।

उनले यही अवस्था रहिरहे एक–दुई दिनमा पुनः स्वस्थ अवस्थामा फर्कनसक्ने दाबी गरेका थिए ।

डाक्टरले त्यस्तो जानकारी दिएको केही घण्टापछि कोइरालालाई भेन्टिलेटरबाट बाहिर झिकिएको हो । कोइरालाका स्वकीय सचिव भरत तिवारीले पनि डाक्टरको भनाई उध्रित गर्दै भने–‘आफैं अक्सिजन लिन थाल्नुभयो, मान्छे चिन्न थाल्नुभयो। हात चलाउने गर्न थाल्नु भएको छ ।’ कोइरालालाई भेन्टिलेटरबाट बाहिर निकालेपछि परिवारमा खुशी छाएको छ । तिवारीले बुधवार बेलुकादेखि नै उहाँको स्वास्थ्यमा सुधार आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्