शिक्षक सेवा आयोगलाई परीक्षा लिन बाटो खुल्याे


काठमाडौं, ८ असोज । सर्वोच्च अदालतले विषयगत रूपमा लाइसेन्सको परीक्षा व्यवस्थाको माग गरी दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

माध्यमिक तहको विज्ञापन नम्बर ३५–०७६ खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षाको व्यवस्था गर्न माग गर्दै दायर भएको रिट सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले अन्तरिम आदेश दिन नमानेको हो ।

सर्वोच्चले यो आदेशसँगै अब शिक्षक सेवा आयोगलाई परीक्षा लिने बाटो खुलेको हो । आयोगले गत २ असारमा अनलाइनमार्फत दरखास्त आह्वानसमेत गरेको थियो । २३ साउनमा परीक्षा तालिका नै प्रकाशित गरेको थियो ।

मुद्दाको किनारा नलागेसम्म, ‘परीक्षा लिने र नतिजा प्रकाशनलगायतको काम–कारबाही’ रोक्न माग गरी गत २८ साउनमा माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसमेत ६ जना शिक्षकले रिट दायर गरेका थिए ।

निवेदकले ‘परीक्षा लिने र नतिजा प्रकाशित गरे अपूरणीय क्षति हुने’ भन्दै अन्तिम टुंगो नलागेसम्म परीक्षालगायतका काम कारबाही रोक्न रिटमार्फत अन्तरिम आदेश समेत मागेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्