शिक्षामन्त्रीको आर्थिक चलखेलपछि सिटिईभीटीमा अनेरास्ववियुको तालाबन्दी


३० कात्तिक । अनेरास्ववियुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिईभीटी) मा तालाबन्दी गरेको छ । अनेरास्ववियुले विभिन्न पाँच सुत्रीय माग राख्दै तालाबन्दी गरेको हो ।

अझ माओवादी कोटाबाट मन्त्री बनेका शिक्षामन्त्री धनीराम पौडेलको अध्यक्षतामा मंगलबार बस्ने परिषद् बैठकले दुई दर्जन बढी शैक्षिक संस्थालाई स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालनका लागि अनुमति दिने तयारी गरेपछि अनेरास्ववियुले विरोध गरेको हो । मन्त्री पौडेलले चिकित्सा शिक्षा विधेयक आफैँले संसद्मा लगेको समेत अनेरास्ववियुको आरोप छ ।  उक्त निर्णयको परिषद्का कर्मचारीले समेत विरोध गरेका छन् ।

यता अनेरास्ववियुले पनि शैक्षिक सत्रको बीचमै आएर सिटिइभिटीले दिन लागेको सम्बन्धन तत्काल बन्द गर्नुपर्ने, सम्बन्धनलगायतका महत्वपूर्ण विषयमा निमित्त सदस्य सचिवले गर्दै आएका गलत क्रियाकलाप तत्काल बन्द गर्नुपर्ने लगायतका माग राख्दै तालाबन्दी गरेको  जानकारी दिएको छ ।

‘परिषद्ले कक्षा सञ्चालन हुनु अघि नै अनुमति दिनुपर्नेमा शैक्षिक सत्रको बीचमा आएर कार्यक्रम सञ्चालनको अनुमति दिने तयारीका पछि आर्थिक चलखेल प्रमुख कारण भएको थाहा पाउन कुनै मुस्किल छैन,’ अनेरास्ववियु सिटिईभीटीका अध्यक्ष आकाश घर्तीले भने ।  अनेरास्ववियुले राखेका माग तत्काल पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने घर्तीले चेतावनी दिए । उनले आर्थिक चलखेल गरी सम्बन्धन दिन लागेको सूचना प्राप्त भएको भन्दै त्यसको अनेरास्ववियुले खुलेर विरोध गर्ने चेतावनी पनि दिए ।  15057782_1339238912753058_2041560849_n

प्रतिक्रिया दिनुहोस्