शीतल निवास पुगेर दीपकुमारले भने, ‘तपाईंको भ्रमण स्थगनले नराम्रो सन्देश गएको छ’


२५ जेठ । एक महिनाअघि भारतबाट फिर्ता बोलाइएका तत्कालीन राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी उनको भारत भ्रमण स्थगनले कुटनीतिक क्षेत्रमा नराम्रो सन्देश गएको बताएका छन् । स्वदेश फर्केपछि राष्ट्रपतिलाई भेट्न उनी पहिलो पटक आइतबार अपरान्ह ४ बजे राष्ट्रपति भवन, शीतल निवास पुगेका थिए ।

गत बैशाख २४ गतेदेखि हुने तय भएको राष्ट्रपति भण्डारीको भारत भ्रमण प्रधानमन्त्री केपी ओलीको निर्णयका कारण तीन दिनअघि स्थगित भएको थियो । भारतको मध्यप्रदेशको उज्जैनमा लाग्ने कुम्भ मेलाको अवसर पारेर भारत जाने र त्यही क्रममा भारतीय उच्च तहसँग कुराकानी गर्ने तय भएकोमा त्यही बेला नेपालमा सरकार परिवर्तनको खेल भएपछि भ्रमण रद्द भएको थियो । त्यसो गर्न उचित हुँदैनथ्यो भन्ने मत राखेका राजदूत उपाध्यायलाई सरकारले सोही दिन फिर्ता बोलाएको थियो ।

स्रोतका अनुसार, ४५ मिनेट लामो भेटका क्रममा राष्ट्रपति भण्डारी समक्ष उपाध्यायले भ्रमणको तयारीका भएका कामहरुको फेहरिस्त सुनाउँदै असाधारण अवस्थामा राष्ट्र तथा सरकार प्रमुखका भ्रमणहरु अन्तिम स्थगित हुने चलन रहे पनि अहिले त्यो अवस्था नरहेकाले अस्वाभाविक देखिएको बताए । स्रोतले उनको भनाइ उद्यृत गर्दै भन्यो, ‘भारतमा तपाईंको राम्रो इमेज छ, उनीहरुले तपाईंलाई स्वागत गर्ने इच्छा आफैँ राखेका हुन् । यस्तो अवस्थालाई ख्याल नगरेर अन्तिम अवस्थामा भ्रमण स्थगित गर्दा नकारात्मक सन्देश गएको छ ।’

स्रोतले उनको भनाइ उद्यृत गर्दै भन्यो, ‘भारतमा तपाईंको राम्रो इमेज छ, उनीहरुले तपाईंलाई स्वागत गर्ने इच्छा आफैँ राखेका हुन् । यस्तो अवस्थालाई ख्याल नगरेर अन्तिम अवस्थामा भ्रमण स्थगित गर्दा नकारात्मक सन्देश गएको छ ।’

राष्ट्रपति भण्डारीले ‘म सरकारको निर्णय अनुसार चल्ने हो, मैले जान्छु भनेर मात्रै हुँदैन, बाँकी कुरा तपाईंलाई थाहै छ’ भनेकी थिइन् ।
स्रोतका अनुसार, राजदूत उपाध्यायले भ्रमण स्थगित भए पनि भारतसँगको सम्बन्धलाई सहजतामा ल्याउन र कुटनीतिलाई शान्त बनाउनबाहेक अर्को विकल्प नरहेको भन्दै भारत भ्रमणमा जान सुझाव दिए । उनको भनाइ थियो, ‘भाषणवाजीले कुटनीति चल्दैन, कुटनीतिलाई कुटनीतिकै तहबाट चलाउनुपर्छ । तपाईं हिजो कुनै पार्टीको नेता हुनुहुन्थ्यो, आज राष्ट्रको अभिभावक हुनुहुन्छ । संविधानले नै तपाईंको अभिभावकीय र तटस्थ भूमिकाका अपेक्षा गरेको छ, यही उचाइँबाट भारतसँग सम्बन्ध राख्नुपर्छ ।’

पूर्वराजदूत उपाध्यायले राजदूतका रुपमा भारत बस्दाका आफ्ना अनुभवहरु राष्ट्रपतिलाई सुनाएका थिए । भारतीयहरुका मनमा नेपालका बारेमा के छाप छ र हामी कसरी चल्नुपर्छ भन्नेबारेमा पनि उनले बताएका थिए । भारतले नेपालका राष्ट्रपतिले चाहेको कुनै पनि बेला भारतमा स्वागत गर्नका लागि तयार रहेको बताएकाले नेपालकै तर्फबाट पहल हुनुपर्ने सुझाव पनि उपाध्यायले दिएका थिए ।

भारतमै रहँदा उपाध्यायले राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटका लागि समय मागेका थिए । उनलाई दुई साताअघि नेपाल फर्किंनासाथ शीतल निवासले समय दिए पनि परराष्ट्रले समयमै खबर नगरिदिँदा भेट हुन सकेको थिएन ।

भारतले नेपालका राष्ट्रपतिले चाहेको कुनै पनि बेला भारतमा स्वागत गर्नका लागि तयार रहेको बताएकाले नेपालकै तर्फबाट पहल हुनुपर्ने सुझाव पनि उपाध्यायले दिएका थिए

 

राष्ट्रपतिले १५ मिनेट पर्खिंदासमेत उपाध्याय नआएपछि खोजी हुँदा घरमै रहेका उनले आफूलाई थाहै नभएको जानकारी दिएका थिए । राष्ट्रपतिसँग भेट भए पनि प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले चाहिँ अझै उनलाई समय दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्