सहमतिः भूकम्पपीडितलाई पहिलो किस्तामा डेढ लाख, संसद् खुल्ने, प्रधानमन्त्रीले सम्बोधन गर्ने


१५ असार । कांग्रेसले नेतृत्व गरेको सरकारका पालामा बनेको भूकम्पपीडितलाई तीन किस्तामा दुई लाख रुपियाँ दिने कार्यविधि संशोधन हुने भएको छ । एकमुष्ट रकम दिने माग गर्दै सदन अवरुद्ध गरेको कांग्रेसलाई सत्तापक्षले उसकै पालामा विश्व बैंकसँग गरेको सहमति देखाउँदा ऊ दुई किस्तामा रकम निकासा गर्न सहमत भएको छ ।
विहान कार्यदल र त्यसपछि शीर्ष नेतास्तरमा भएको छलफलपछि दुई किस्तामा रकम निकासा गर्ने सहमति भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले बताए । उनका अनुसार, दातृ निकायसँगको सहमतिपछि पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार गरी भूकम्पपीडितलाई रकम निकासा दिइनेछ ।
यससँगै कांग्रेसले पाँच दिनदेखि गरेको संसद्को अवरोध हट्ने भएको छ ।

बजेटमा तीन किस्ता भनेर आइसकेको, अहिले एकै किस्तामा दिँदा आर्थिक असन्तुलन हुने र दातासँगको सर्त भंग हुँदा सहयोग रोकिने कारण जनाउँदै सत्ता पक्षले यसमा अवरोध सिर्जना नगर्न अनुरोध गरेको थियो । विश्व बैंकसँग भएको सम्झौतामा ‘दुईभन्दा बढी चरणमा’ भन्ने उल्लेख भएका कारण त्यसैमा टेकेर दुई चरणमा रकम दिने गरी सहमति बनेको हो ।

आज विहान प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता कृष्णप्रसाद सिटौला र एमाले नेता भीम रावललाई बालुवाटारमा बोलाएर कुरा गर्नुभएको थियो । कार्यदल स्तरमा भएको प्रगति र सहमतिका बारेमा प्रधानमन्त्रीलाई अवगत गराउँदै दुबै नेताले सहमति गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्